स्वस्थ रहने सूत्रः नो सुगर डाइट, के खाने कसरी खाने (टिप्ससहित)

मूलखबर संवाददाता
काठमाडौं

परिवर्तित जीवनशैली तथा खानपानका कारण मधुमेह समस्या आम हुन थालिसकेको छ । विश्वभर नै समस्या बन्दै गइरहेको छ । त्यसैले कतिपय युवा वर्गले हिजोआज मधुमेह नदेखिए पनि ‘नो सुगर डाइट’ अपनाउन थालेका छन् ।

जसमा चिनी नखानुका साथै अन्य खाना जसमा चिनी वा सुगरको मात्रा हुन्छ त्यस्ता खाना पनि छोड्नुपर्ने हुन्छ । मधुमेह भएकाहरूका लागि त झनै यस्तो खानपान एकदमै जरुरी छ । यो लेख मार्फत् जान्ने प्रयास गरौं यसमा फाइदा बेफाइदा तथा ‘नो सुगर डाइट’ मा कस्तो खालको खाना खाने र कस्तो खाना नखाने भन्ने बारेमा ।

नो सुगर डाइट के हो ?
यसको अर्थ, यस्तो खानपान गर्नु जसमा सुगर तथा मिठो खानेकुराहरू सामेल नभएको होस् । यस्तो डाइट गर्ने व्यक्तिले चियाकफीमा पनि चिनीको सेवन गर्दैनन् ।

कतिपयले चिनीको विकल्पमा गुड, ब्राउन सुगर जस्ता मिठो चिज पनि प्रयोग गर्छन् भने कतिपयले गुलियो चिज केही पनि सेवन गर्दैनन् । यस्तो खानपानलाई लो–कार्ब डाइट पनि भनिन्छ किनकि यसमा कार्बोहाइड्रेट पनि आफ्नो खानपानबाट हटाइन्छ ।

 डाइटका फाइदा

– यसलाई लगातार लागू गरेमा ब्लड सुगरलाई नियन्त्रण गर्न सकिन्छ ।

– जो व्यक्तिहरू बढिरहेको तौलबाट चिन्तित छन् उनीहरूका लागि तौल सन्तुलन गर्नका लागि एकदमै सहयोग हुन्छ ।

– नो सुगर डाइट मुख तथा स्वास सम्बन्धी स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

– यसले कलेजो सम्बन्धी समस्याहरूको जोखिम कम गर्छ ।

– मुटु स्वस्थ रहन्छ साथै हृदयघात सम्बन्धी समस्याको जोखिमबाट पनि बच्न सकिन्छ ।

– यो डाइट शारिरीक स्वास्थ्यका लागि मात्र नभएर छाला तथा बाहिरी सुन्दरताका लागि पनि राम्रो हुन्छ ।

सुरुवात कसरी गर्ने ?

कुुनै पनि चिज एकैपटक गर्नुभन्दा सुस्त सुस्त र थोरै मात्राबाट सुरु गर्नुपर्छ । त्यसैले, यो डाइट पनि एकैपटक पूर्णरूपमा लागू गर्नुभन्दा थोरै थोरै गर्दै सुरु गर्न सकिन्छ । जसले गर्दा शरीरले एक्कासि परिवर्तनको महसुस गर्दैन । जसले गर्दा शरीरमा गलत प्रतिक्रिया पनि देखिँदैन ।
एकैपटक मिठो चिज नछोड्नुहोस्, यो गाह्रो पनि हुन्छ । पहिला चिनी खान छोड्ने, त्यसपछि अन्य मिठा चिज गर्दै छोड्न सकिन्छ ।

के खाने ?

यस खानपानलाई लागू गर्नका लागि प्रोटिनले भरिपूर्ण चिज जस्तै, चिकेन, माछा, टोफू, अण्डा आदि खानुहोस् । राम्रो फ्याट पाइने खानेकुराहरू अण्डा, एभोकाडो, नट्स, जैतुनको तेल आदि खान सकिन्छ ।

अन्य कम्प्लेक्स कार्बको स्रोतमा गेडागुडी, हरियो पात भएको तरकारी, साग, ब्राउन राइसलाई आफ्नो खानपानमा समावेश गर्न सकिन्छ । चिनी नराखेको चिया कफीहरू पिउन सक्नुहुन्छ । त्यस्तै, ऊर्जा प्राप्त गर्नका लागि ताजा कागती पानी, पुदिना पानी तथा नरिवलको पानी पिउन सक्नुहुन्छ ।

 के नखाने ?

मैदा, मकै, चुकंदर, रिफाइन्ड चिनी, सेतो चामल, सेतो ब्रेड, सोडा, बेक गरेका खानेकुरा, कोल्ड ड्रिंकहरू आदि खानु हुँदैन । साथै, फलफूलमा केरा, सखरखण्ड, आलु र आँपहरू पनि एकदमै थोरै मात्रामा खानुपर्छ ।

यसका बेफाइदा

आफ्नो खानपानमा चिनीको मात्रा एक्कासि घटाउँदा वा सेवन नगर्दा कतिपय मानसिक तथा शारीरिक परिवर्तनहरू देखिन सक्छ । जस्तो कि उदासीपन आउने, तनाव, निद्रा नलाग्ने वा धेरै लाग्ने, मिठो एकदमै खान मन लाग्ने जस्ता समस्या देखिन्छन् । जसलाई धैर्य गरेर चिनीको सेवन नगरेमा पछि गएर यसको राम्रो नै नतिजा हुन्छ ।