गुणस्तरीय खानेपानीमा २५ प्रतिशतको मात्रै पहुँच

मूलखबर संवाददाता
काठमाडौं, ९ चैत

खानेपानी नागरिकको मौलिक र नैसर्गिक अधिकार हो । त्यसमाथि पनि गुणस्तरीय खानेपानी खान पाउनु नेपाली नागरिकको अधिकार हो भने नागरिकलाई गुणस्तरीय खानेपानी उपलव्ध गराउनु राज्यको दायीत्व हो । सन २०३० सम्म सबै नागरिकको घर घरमा पानी पुर्याउने योजना दिगो विकासको लक्ष्य पनि हो ।

गुणस्तरीय खानेपानीमा मुलुकको २५ प्रतिशत जनसङ्ख्याको पहुँच पुगेको छ । आधारभूत खानेपानीमा ९५ प्रतिशत नेपालीको पहुँच पुगेको छ ।

आधारभूत खानेपानीलाई प्रशोधन गरी नेपाल खानेपानी गुणस्तर मापदण्ड कायम गरिएको पानीलाई गुणस्तरीय खानेपानी मानिएको छ भने कुनै पनि मूल वा स्रोतमा पाइप राखेर घरको आँगनसम्म पुर्‍याई पानी उपभोग गर्नुलाई आधारभूत खानेपानी मानिएको छ ।

१५ औँ पञ्चवर्षीय योजना (२०७६/७७–२०८०/८१) मा ९९ प्रतिशत नागरिकमा आधारभूत स्तरको खानेपानी र ४० प्रतिशत नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने लक्ष्य लिएको थियो । जुन पूरा हुन सकेको छैन । १५ औँ पञ्चवर्षीय योजना चालु आर्थिक वर्ष (२०८०/८१) मा सकिँदै छ । राष्ट्रिय योजना आयोगका अनुसार गुणस्तरीय खानेपानी प्रयोग गर्ने जनसङ्ख्या सन् २०३० सम्म ९० प्रतिशत पुर्‍याउने राष्ट्रिय लक्ष्य रहेको छ ।

खानेपानी मन्त्रालय अन्तर्गतको आयोजना कार्यान्वयन एकाइका सिडिई योगेन्द्र चित्रकारले खानेपानीको क्षेत्रमा आवश्यक बजेटको अभाव तथा खानेपानी आयोजना सङ्घीय, प्रादेशिक र स्थानीय तहसम्म विभाजित हुँदा खानेपानीमा १५ औँ पञ्चवर्षीय योजनाको लक्ष्य प्राप्त हुन नसकेको बताउनुभयो ।

आज विश्व पानी दिवस

पानीको उपयोग तथा त्यसका स्रोतको संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ शुक्रबार विश्व पानी दिवस मनाइँदै छ । यस वर्ष यो दिवस ‘शान्ति र समृद्विका लागि पानी’ भन्ने मूल नाराका साथ विभिन्न सङ्कल्प तथा जनचेतनामूलक कार्यक्रमसहित विश्वभरि नै यो दिवस मनाइँदै छ । प्राणी जगत्का लागि हावापछिको दोस्रो महत्वपूर्ण तत्व पानीलाई मानिन्छ ।

पानीको महत्व र संरक्षणबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् १९९३ देखि संसारभरि हरेक वर्ष मार्च २२ का दिन विश्व पानी दिवसका रूपमा मनाउँदै आएको छ । सन् १९९२ मा ब्राजिलको रियो डी जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्रसङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो ।