सभामुख र प्रमुख सचेतककाे टाेली स्विजरल्याण्ड भ्रमणमा

मूलखबर संवाददाता
काठमाडौं, ८ चैत

सभामुखसहितकाे दलका प्रमुख सचेतककाे टाेली एक हप्ताको लागि स्विजरल्याण्ड भ्रमणमा गएको छ । सभामुख देवराज घिमिरे अन्तरव्यवस्थापिका संघको १ सय ४८औँ महासभामा सहभागी हुन १० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड प्रस्थान गरेका हुन् ।

यही चैत १० देखि १४ गतेसम्म अन्तरव्यवस्थापिका संघको प्रधान कार्यालय रहेको जेनेभामा सञ्चालन हुने महासभामा सहभागी हुन सभामुख घिमिरे नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार कतार एयरलान्सको उडानबाट दोहा हुँदै जेनेभातर्फ प्रस्थान गरेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ । टाेली १६ गते स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

सभमुख घिमिरेले ‘संसदीय कूटनीति : शान्ति र समझदारीको लागि सेतु निर्माण’ विषयमा संघीय संसद्को तर्फबाट आफनो वक्तव्य प्रस्तुत गर्ने जनाइएको छ ।

महासभामा सभामुख घिमिरेसहित संसदीय दलका प्रमुख सचेतक नेपाली कांग्रेसका रमेश लेखक, नेकपा (एमाले) का महेशकुमार बर्तौला, नेकपा(माओवादी केन्द्र) का हितराज पाण्डे र राष्ट्रिय स्वतन्त्र पार्टीका सन्तोष परियार सहभागी छन् ।

यस्तै राष्ट्रियसभा सदस्य गंगाकुमारी बेल्वासे, संघीय संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरी, उपसचिव प्रदीप गुरागाई र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईसमेत सहभागी छन् ।