आगलागीको त्रासमा वर्षाको राहत, केही दिन अझै वर्षा
एकदिन अगाडिसम्म जतातै आगलागीको समाचार पढेर आक्रान्त नेपाललाई हिजोदेखि शुरु भएको वर्षाले राहत दिएको छ ।
नेपालमा हिउँदमा पानी नपरेर निकै सुख्खा महसुस गरिएको थियो । लामो समयसम्म पानी नपर्दा देशैभर सुख्खा बढेर समस्या बढेको थियो । तापनि बुधवारबाट मध्य र पूर्वी भेगमा सुरु भएको प्री(मनसुन वर्षाले केही राहत दिएको मौसम अधिकारीहरूले बताएका छन्।
आउँदा तीन दिनसम्म ती क्षेत्रमा हल्का तथा मध्यम वर्षा हुने पूर्वानुमान गरिएको मौसम अधिकारीहरूले बताएका छन्। पश्चिमी र स्थानीय वायुको मिश्रित प्रभावका कारण बिहीवार र शुक्रवारसम्मै मधेस र कोशी प्रदेशमा वर्षा हुने पूर्वानुमान गरिएको छ।
तर बुधवारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशमा बादल लागिसकेको छैन। लुम्बिनी प्रदेशको समेत पश्चिमा भागमा मौसम सफा रहेको बताइएको छ। सुख्खा हिउँदलगत्तै देखा परेको प्रणाली भएकाले छिटपुट र हल्का वर्षा भए पनि त्यसको देशव्यापी प्रभावका कारण प्रदूषण, डढेलो र गर्मी नियन्त्रणमा यसले केही राहत दिने मौसमसम्बन्धी अधिकारीहरू बताउँछन्।- बीबीसीको सहयोगमा