
अर्थमन्त्री अनन्तको निर्देशनः लगानी सम्मेलनको तयारी तीव्र होस्
तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठक अर्थमन्त्री तथा लगानी सम्मेलन निर्देशक समितिका संयोजक वर्षमान पुनको अध्यक्षतामा अर्थ मन्त्रालयमा सम्पन्न भएको छ ।
बैठकले निर्देशक समितिको अघिल्लो बैठकका निर्देशन कार्यान्वयनको अवस्थाबारे जानकारी लिनुका साथै लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिएको छ ।
बैठकमा अर्थमन्त्री पुनले मुलुकभित्र उत्पादन र रोजगारीका अवसर सिर्जना गर्न पूर्वाधार विकास, औद्योगिक एवं पर्यटकीय पूर्वाधार, स्वच्छ ऊर्जा, सूचना तथा प्रविधि, कृषि प्रशोधन एवं स्वास्थ्य तथा शिक्षालगायतका क्षेत्रमा निजी लगानी आकर्षण गर्ने सन्दर्भमा लगानी सम्मेलनलाई फलदायी बनाउन सबै सरोकारवालाको उत्तिकै महत्त्वपूर्ण भूमिका रहने बताए ।
नेपालले आगामी वैशाख १६ र १७ गते काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन आयोजना गर्दै छ ।
स्वदेशी एवं विदेशी निजी क्षेत्र, गैरआवासीय नेपाली लगायतबाट लगानी आकर्षण गर्ने अभिप्रायले आयोजना हुन लागेको यस लगानी सम्मेलनमा अधिकतम् बी–बी (व्यावसायिक साझेदारी) का परियोजनामा लगानी जुटाउन बैठकमा उपस्थित निजी क्षेत्रका प्रतिनिधिलाई उनले आह्वान गरे ।
निजी क्षेत्रका तीनवटा छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा नेपाल चेम्बर अफ कमर्स लगानी सम्मेलनको सहआयोजक रहेका छन् ।
बैठकमा लगानी सम्मेलन सचिवालयका संयोजक एवं लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले लगानी सम्मेलन आयोजना गर्न गठित निर्देशक समिति तथा कार्यान्वयन समितिको निर्देशनबमोजिम सचिवालय तथा परियोजना छनोटसम्बन्धी प्राविधिक समिति र कानुन सुधार समितिका तर्फबाट भएका कार्यको सम्बन्धमा विस्तृत प्रस्तुतीकरण गरेका थिए ।
