सत्ता विमुख हुँदा अत्तालिएको कांग्रेस, रविलाई प्रधानमन्त्री अफर पनि गर्ने, संसद पनि रोक्ने !

मूलखबर संवाददाता
काठमाडौं

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साथ छोडेका कारण अकस्मात् सरकार छाड्नु परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस चरम दोधारमा परेको देखिएको छ ।

अकस्मात् प्रमुख प्रतिपक्षमा पुग्नुपरेको कांग्रेसले विरोधका नाममा प्रतिनिधिसभाको बैठकलाई अवरोध गरेको छ । तर, कांग्रेसले उठाएको मुद्दामा भने अलमल र विरोधाभाष देखिन्छ ।

यसअघि एमालेले विवादित मन्त्रीलाई हटाऊँ भन्दा चुपचाप बसेको कांग्रेस प्रतिपक्षमा पुगेलगत्तैदेखि विरोधमा उत्रिएको छ । अर्कातिर प्रधानमन्त्रीले संसद्मा जवाफ दिनुपर्ने माग कांग्रेसको छ । सँगै गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी प्रकरणमा कांग्रेसले आक्रोश व्यक्त गर्दै आएको छ ।

यही विरोधाभाषले कांग्रेस ब्याक हुने अवस्थामा पुग्न लागेको नेताहरू बताउँछन् ।

यसअघि सरकारमा रहेर कार्यान्वयन गर्न सक्ने ठाउँमा नै हुँदा भने कांग्रेसले रविविरुद्ध यो मुद्दा उठाएको थिएन । तर, प्रतिपक्षमा पुगेलगत्तै उठाएको मुद्दाले कांग्रेस आफैंलाई अलमल र दोधारमा पारेको हो ।

त्यति मात्र होइन रविलाई कांग्रेसले नै प्रधानमन्त्री बन्न अफर गरेको प्रमाण समेत आफूसँग रहेको स्वर्णिम वाग्लेले संसदमा बताएका थिए।

अख्तियारमा बयान दिन गएका तत्कालीन स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेतलाई हटाउन कांग्रेस तयार नहुँदा प्रचण्डले सत्ता समीकरणको काँध फेर्नुपर्नेसम्मको दाबी गरेका थिए । अर्का पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्की टेरामक्स प्रविधि खरिदको मुद्दामा बयान दिन पुगे ।

यी दुईविरुद्ध तत्कालीन प्रमुख प्रतिपक्षी एमालेले ध्यानाकर्षण गराउँदा कांग्रेसले कुनै निर्णय गर्ने आवश्यकता ठानेन । तर, अहिले कांग्रेसले यस्तै मुद्दालाई उचालिरहेको छ ।

रवि र ओलीको काउन्टर
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी दललाई चारवर्ष संसद अवरुद्ध गरे पनि आफूहरूको संयन्त्रले भ्रष्टाचार अन्त्यका लागि काम गर्ने बताएका छन्।

सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछाने मुछिएकाले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको कांग्रेसले अन्यथा संसद अवरुद्ध हुने चेतावनी दिएपछि गृहमन्त्री लामिछानेको सो भनाइ सार्वजनिक भएको हो।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सहकारीको रकम हिनामिनामा गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न पर्याप्त प्रमाण रहेको दाबी गर्दै कांग्रेसले छानबिनका लागि संसदीय समिति गठन गर्न माग गरेको हो ।

यसपछि सोही बैठकमा सहभागी भएर बाहिरिने क्रममा उपप्रधान तथा गृहमन्त्री लामिछानेले कांग्रेसलाई चारवर्ष संसद अवरुद्ध गर्न व्यंग्य गरेका हुन् ।

अनुसन्धान प्रभावित गर्न खोज्ने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न नसुहाउने भन्दै उनले भने, ‘देशमा अनियमितता गर्नेमाथि अनुसन्धान गर्दा प्रभावित पार्ने र अनुसन्धान गर्ने व्यक्तिलाई कुर्सीबाट हटाएर पठाउने कांग्रेसले नैतिकता र सुशासनको कुरा गर्न सुहाउँदैन ।’

त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेर बदनाम गराउन खोजेको आरोप लगाएका छन्।

प्रेस चौतारी कैलालीले धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सहकारीसँग कुनै सम्बन्ध नै नभएका लामिछानेलाई जबरर्जस्ती बदनाम गराउन खोजिएको दाबी गरे।

लामिछानेको सहकारीसँग कुनै सम्बन्ध नभएको भन्दै उनले छानबिनमा कुनै प्रभाव नपर्ने जिकिर गरे। उनले सहकारीपीडितले चाँडै न्याय पाउने समेत उल्लेख गरे। “कुनै मन्त्री वा सांसदविरुद्ध उजुरी पर्दैमा पद नरहने भए मन्त्री र सांसद सबै खाली हुने अवस्था हुने थियो”, उनले भने।