नयाँ गठबन्धनको न्यूनतम साझा कार्यक्रम आज आउँदै, के छन् मुख्य प्राथमिकता
सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ ।
शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।
कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री एवं कार्यदलका सदस्य मुकुल ढकालले मूलखबरलाई जानकारी दिएका छन् ।
यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको ढकालले बताए ।
साझा कार्यक्रममा संविधानको रक्षा, आर्थिक विकास र समृद्धि, अर्थतन्त्रका चुनौती समाधान, आम मानिसहरूमा आशा र विश्वास जगाउने, सार्वभौम सत्ता र स्वाधीनताको रक्षा गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
कार्यदलमा नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, माओवादीबाट उपमहासचिवद्वय वर्षमान पुन र जनार्दन शर्मा रहेका थिए।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति वाग्ले र महासचिव डा मुकुल ढकाल, जसपाबाट केन्द्रीय कार्यकारिणी सदस्यहरू मनिष सुमन र राजेन्द्र श्रेष्ठ तथा नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भूसाल सदस्य रहेका थिए।