पाेखरालाई पर्यटकीय राजधानी घाेषणा, विकासका लागि सहयोग हुन्छ : प्रधानमन्त्री
पोखरा, ४ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पाेखरालाई पर्यटकीय राजधानी घाेषणा गर्नुभएको छ । पाेखराकाे लेकसाइडस्थित बाराही चाैरमा आयाेजित विशेष कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले पोखरालाई पर्यटकीय राजधानी घाेषणा गर्नुभएको हाे । प्रधानमन्त्री प्रचण्डले विकासका लागि सरकारले प्राथमिकतापूर्वक आवश्यक सहयोग, समन्वय तथा सहकार्य गर्ने बताउनुभएको छ ।
पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ले पोखरालाई अझ सुन्दर, सुरक्षित, हरियाली, व्यवस्थित र समुन्नत शहरको रूपमा विकास गर्न सरकारले उच्च प्राथमिकता दिने विश्वास दिलाउनुभयो ।
“पोखराको विकास निर्माणमा विद्यमान तथा सम्भावित समस्या समाधानका लागि समेत यथोचित पहल तथा समन्वय गरिनेछ,” प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “पर्यटकीय राजधानीको सुदृढ पूर्वाधार विकासका लागि अन्तर्राष्ट्रिय विकास साझेदारहरूबाट आवश्यक साझेदारी र सहयोग प्राप्त गर्न तथा निजी क्षेत्रका लगानीकर्ताहरूबाट आकर्षित गर्न सरकारले आवश्यक पहल गर्नेछ ।” उहाँले आगामी महिना आयोजन गर्न लागिएको लगानी सम्मेलनले समेत यस कार्यमा महत्त्वपूर्ण सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।