संकटमा टिकटक, स्वामित्व परिवर्तन नगरे अमेरिकामा प्रतिबन्ध हुने कानून तयार

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेन्जेटेटिभ्स’ले टिकटकमाथि देशभर प्रतिबन्ध लगाउन सकिने प्रावधानसहितको विधेयक पारित गरेको छ ।

चिनियाँ कम्पनीको स्वामित्व रहेको टिकटकबाट सुरक्षा चुनौती बढेको निष्कर्षसहित अमेरिकी सांसदहरूले बुधबार टिकटकमाथि प्रतिबन्ध लगाउन सकिने विधेयक पारित गरेका हुन् ।

विधेयकको पक्षमा ३५२ मत तथा विपक्षमा ६५ मत खसेको थियो । विधेयकमा १८० दिनभित्र चिनियाँ कम्पनी बाइटडान्सले टिकटक नबेचे प्रतिबन्ध लगाइने उल्लेख छ । अन्यथा देशभर प्रतिबन्ध लगाइने भनिएको छ ।

चीनले टिकटकबाट अमेरिकीमाथि जासुसी गरिरहेको सांसदहरूको आरोप छ । टिकटकको माउ कम्पनी बाइटडान्सको चिनियाँ कम्युनिस्ट पार्टीसँग सम्बन्ध रहेको आरोप अमेरिकी सांसदहरूको छ । जुन बाइटडान्स र टिकटकले अस्वीकार गर्दै आएका छन् ।

यद्यपि, कतिपयले माथिल्लो सदन सिनेटबाट १७० मिलियन अमेरिकी प्रयोगकर्ता रहेको एपमाथि प्रतिबन्धन लगाउने विधेयक पारित हुने सम्भावना न्यून रहेको बताइरहेका छन् ।

दुवै सदनबाट विधेयक पारित भए राष्ट्रपति जो बाइडेले हस्ताक्षर गर्नेछन् । त्यसपछि मात्र कानुनमा परिणत हुनेछ ।

चिनियाँ कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको टिकटकमा अहिले १५ करोडभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरू छन्।

यो बाइटडान्स कम्पनी चीन सरकारको भएको र यसले अमेरिकी प्रयोगकर्ताहरूको व्यक्तिगत विवरणहरू संकलन गरिरहेको अमेरिकी हाउसका सदस्यहरूको भनाइ छ।

चीनले कुनै पनि बेला प्रयोगकर्ताहरूको थप विवरण माग्ने पनि उनीहरूको भनाइ छ। यसबाट अमेरिकालाई असुरक्षा हुने भन्दै उनीहरूले कि टिकटकको स्वामित्व बेच्नुपर्ने, नभए प्रतिबन्ध लगाउनुपर्ने भनेका हुन्।