बैदेशिक रोजगारीको महत्त्वपूर्ण ढोका बन्दः यस्तो छ मलेसियाको पछिल्लो निर्णय

मूलखबर संवाददाता
काठमाडौं

मलेसिया नेपालको लोकप्रिय बैदेशिक रोजगारी गन्तब्य हो। अहिले मलेसियामा ५ लाखभन्दा बढी नेपालीहरु भएको अनुमान छ । चालु आर्थिक वषको पहिलो ७ महिना (साउन–माघ)सम्ममा ४२ हजार ९२५ जना श्रमिक नयाँ श्रम स्वीकृति लिएर मलेसिया पुगेका छन् । गत आर्थिक वर्षमा २ लाख १९ हजार जना श्रमिक यसरी मलेसिया पुगेका थिए ।

मलेसियामा लाखौँको सङ्ख्यामा नेपाली कामदारहरू काम गर्छन्। नेपालीहरूले मलेशियामा विशेषगरी सुरक्षा गार्डस्, सरसफाइ, साना तथा मझौला उत्पादन उद्योगलगायतका क्षेत्रमा काम गर्ने गर्छन्।

नेपालीहरू दक्ष भन्दा पनि अदक्ष र अर्धदक्ष क्षेत्रमा धेरै रहेका छन्। तर अब भने मेलेसियाले नेपालसहित कुनै पनि देशबाट श्रमिक नलिने निर्णय गरेको छ। मलेसियाबाट श्रमिकको माग आउन बन्द भएपछि धेरै नेपालीले रोजगारीको अवसर गुमाउनेछन् ।

औपचारिक क्षेत्रमा आप्रवासी (विदेशी) श्रमिक भित्र्याएर रोजगारी दिन बन्द गर्ने मलेसियाली सरकारको निर्णयप्रति नेपाल सरकारले चिन्ता व्यक्त गरेको छ । मलेसियाले आगामी जुन महिनाको प्रारम्भ (१८ जेठ) देखि विदेशबाट श्रमिक नल्याउने गरी मलेसियन सरकारले निर्णय गरेको हो ।

 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव राजीव पोखरेलले नेपाल सरकार समक्ष औपचारिक रुपमा जानकारी नदिइएपनि मलेसियन सरकारले आफ्नो आधिकारिक वक्तव्यमा नै यो जानकारी गराइसकेकोले यसबाट नेपाल पनि प्रभावित हुने देखिएको बताए ।

कस्तो छ मलेसियाको निर्णय

मलेसियाको गृह मन्त्रालयले समयसीमा तोकेर विदेशी कामदारहरू उक्त देशमा ल्याउने काम अर्को निर्णय नभएसम्म रोक्ने निर्णय गरेको विवरणहरू आएका छन्।

अङ्ग्रेजी भाषाका स्थानीय सञ्चारमाध्यमका वेबसाइटहरूमा जनाइए अनुसार मलेशियाली रोजगारदाताहरूले ल्याउने कामदारहरूको भिसा यही मार्च ३१ भित्र लागिसकेको हुनु पर्नेछ।

त्यस्ता कामदारले पनि आगामी मे ३१ भित्र मलेसिया प्रवेश गरिसक्नु पर्नेछ र त्यसको व्यवस्था रोजगारदाताले मिलाउनु पर्नेछ। त्यस्तै कामदारहरूलाई मार्च ३१ भित्र भिसा लगाउन नसक्ने कम्पनीहरूले आफ्नो विदेशी कामदारको कोटा गुमाउने पनि निर्णय भएको जनाइएको छ।

सरकारको उक्त निर्णयले मलेसियाको उत्पादन उद्योगमा गहिरो असर पर्ने भन्दै त्यहाँका उद्योगीहरूले त्यसमा पुनर्विचार गर्न माग पनि गरेका छन्।