ओली र झलनाथको समान आशंकाः नयाँ गठबन्धनसँग बेखुसी विदेशी शक्ति कुन् हो !

मूलखबर संवाददाता
काठमाडौं

नेपालको सत्ता सँधैभरी भूरजानीतिको प्रभाव रहने गरेको बताइन्छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेसहितका दलसँग नयाँ सत्ता समीकरण गरेपछि दिल्ली र बेइजिङमा समेत तरंग पुगेको बुझ्न कठिन छैन।

एमालेले वर्तमान गठबन्धन भत्काउन विदेशी शक्ति लागेको आशंका गरेको छ। एमालेले बाह्य शक्तिहरू नयाँ समीकरण भत्काउन सक्रिय भएको दाबी गरेको छ । पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष केपी ओलीले एमाले–माओवादीसहितको नयाँ गठबन्धन देख्न नचाहने कतिपय बाह्य शक्ति अझै भत्काउन सक्रिय रहेको ब्रिफिङ गरेका हुन् ।

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा बसेको सचिवालयको शुक्रबारको बैठकमा अध्यक्ष ओलीले अहिलेको गठबन्धन धेरै मिहिनेत र प्रयासबाट बनेको बताए । साथै उनले अहिलेको गठबन्धन पूर्ण कार्यकाल टिकाएर जनताले महसुस गर्ने गरी सरकार परिणाममुखी काममा केन्द्रित हुनुपर्ने निष्कर्ष पनि सुनाए ।

‘एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धन बन्न नदिने र बनेको देख्न नचाहने कतिपय बाह्य शक्ति अहिले पनि भत्काउन सकिन्छ कि भनेर सक्रिय छन्,’ ओलीको ब्रिफिङ उद्धृत गर्दै एक पदाधिकारीले भने, ‘तर, धेरै प्रयासबाट बनाएको यो गठबन्धनलाई मजबुत बनाएर पूर्ण कार्यकाल टिकाउनुपर्छ । सरकार जनताले महसुस हुने गरी काममा केन्द्रित हुन्छ ।’

त्यसैगरी एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ समीकरण बनेकै दिनबाट दक्षिणपन्थी शक्तिहरू चलखेल र षड्यन्त्रमा लागेको बताएका छन्।

विगतको गठबन्धनले अघि सारेका नीति, कार्यक्रम र बजेटले जनता र राष्ट्रको कुनै पनि आधारभूत समस्याहरूलाई सम्बोधन गर्न नसकेकाले नयाँ समीकरण आवश्यक भएको औंल्याएका छन्।

खनालले शनिबार विज्ञप्तिमार्फत् सरकारका कार्यभार औंल्याएका हुन्।

‘यतिबेला विश्वको परिस्थिति अत्यन्त तनावयुक्त बन्दै गएको छ। भूराजनीतिक शक्तिहरू बीचको प्रतिस्पर्धा तीव्र बनिरहेको छ। त्यसले गर्दा द्वन्द्व, हिंसा र युद्धका क्षेत्रहरू फैलिरहेका छन्। कतै विश्व युद्ध त हुने होइन भन्ने आशंका देखिन थालेको छ। हाम्रो देशको रणनीतिक महत्वका कारणले भूराजनीतिक शक्तिहरूको चासो दिन प्रतिदिन बढिरहेको छ। यस्तो स्थितिमा हामीले मुलुकको सर्वोपरि राष्ट्रिय हितलाई ध्यानमा राख्दै सन्तुलित विदेश नीतिलाई अख्तियार गर्दै हाम्रा अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगहरुलाई अघि बढाउनु पर्ने चुनौतिपूर्ण आवश्यकता हाम्रा सामु छन्,’ उनले भनेका छन्।

वर्तमान राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिप्रति गम्भीर बन्दै सरकारमा रहेका सबै घटक माझको नीतिगत एकतालाई बलियो बनाउनुपर्ने उनले बताएका छन्।