सामान्य किसानदेखी मन्त्रीसम्म बनेका हितबहादुर तामाङ काे हुन ?

मूलखबर संवाददाता
काठमाडौं, २१ फागुन

नेकपा एमाले सहितको नयाँ गठबन्धनमा प्रचण्डकाे क्याविनेट मन्त्रीमा नियुक्त भएका विना विभागिय मन्त्री हितबहादुर तामाङ सामान्य किसान परिवारमा जन्मेर राजनीति र राज्यकाे नीति निर्माण र कार्यन्वयन तहमा पुग्ने तामाङ नेता हुन् ।

अघिल्लो वर्ष भएको प्रतिनिधिसभाको निर्वाचनमा नुवाकोट– १ बाट एमालेका बद्री मैनालीलाई पराजित गर्दै निर्वाचित भएका थिए।

उनको जन्म वि.सं. २०२० जेठ १५ गते पञ्चकन्या गाउँपालिका– ३, नुवाकाेट (हालको)मा भएको थियो।

तामाङ २०३६ सालदेखि राजनीतिमा सक्रिय व्यक्ति हुन्। उनी वि.सं. २०३८ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चौथो मसालनिकट पार्टीको विद्यार्थी संगठन नुवाकोटको सचिव बनेको थिए।

त्यस्तै २०५१ सालमा नेकपा (एकता केन्द्र)को नुवाकोट जिल्ला सचिव बनेको थिए। त्यसपछि भने उनी पुष्पकमल दाहाल ‘प्रचण्ड’कै वरिपरि रहेर राजनीतिमा सक्रिय छन्।

२०५१ सालमा माओवादी प्रवेश गरेर भूमिगत भएका उनी २०५५ मा माओवादी क्षेत्रीय व्युरो सदस्य बनेका थिए।

माओवादी जनयुद्धका क्रममा तामाङले दुई वर्षे जेल जीवनसमेत बिताएका थिए। त्यस्तै उनी २०५९ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए।

नेकपा माओवादी केन्द्र र एमाले मिलेर बनेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पनि उनी केन्द्रीय सदस्य थिए। हाल उनी माओवादी केन्द्रको केन्द्रीय सदस्य हुन्।

तामाङ २०६८ सालमा बाबुराम भट्टराई नेतृत्वकाे सरकारमा युवा तथा खेलकुदमन्त्री थिए। उनी अहिले प्रधानमन्त्री प्रचण्डको क्याविनेटमा विना विभागिय मन्त्रीकाे रूपमा २०८० फागुन २१ गते नियुक्त भएका छन् ।