केही स्थानमा वर्षापछि मौसम खुल्दै जाने

मूलखबर संवाददाता
काठमाडौं

देशका विभिन्न ठाउँमा बिहानैबाट वर्षा भइरहेको छ । देशभर आंशिकदेखि साधारणतया बदली रहँदा कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा मेघगर्जन र चट्टयाङसहित हल्का वर्षा भइरहेको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ

“आज दिउँसो वाग्मती प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षा हुनसक्छ,” मौसमविद् गंगा नगरकोटी भन्छिन्, “तर काठमाडौंमा भने वर्षाको सम्भावना छैन ।” उनका अनुसार काठमाडौंमा आज मौसम बदली हुनेछ ।

विभागका अनुसार राति कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । कोसी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।