पश्चिमी वायुले आज साँझदेखि वर्षा गराउने

मूलखबर संवाददाता
काठमाडौं

देशका केही भू–भागमा आज वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायु पुनः सक्रिय हुँदा वर्षाको सम्भावना रहेको हो । अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेकोमा साँझबाट यो प्रणाली (पश्चिमी वायु) थप सक्रिय हुँदा वर्षा हुने भएको हो ।

जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान गण्डकी र कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम मुख्यतया सफा छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

विभागका अनुसार राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आज साँझबाट पश्चिमी क्षेत्र हुँदै पश्चिमी न्यूनचापीय प्रणाली पुनः केही दिन सक्रिय हुने भएको छ । आज बेलुकाबाट पश्चिमी क्षेत्रबाट बादल प्रवेश गर्न सुरु गर्ने मौसमविद् सञ्जिव अधिकारी बताउँछन् । आजबाट पुनः सक्रिय हुने प्रणालीले पश्चिमी भू–भागमा तुलनात्मक रूपमा धेरै र मध्य तथा पूर्वी क्षेत्रमा कम वर्षा गराउने उनको भनाइ छ ।

यो प्रणाली आइतबारसम्म जारी रहने मौसमविद् अधिकारी बताउँछन् ।

भोलि वाग्मतीसहित धेरै प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । भोलि सुदूरपश्चिम र कर्णाली प्रदेशसहित गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनेछ ।

लुम्बिनी प्रदेशसहित गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा र देशका बाँकी पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।

भोलि राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा वाग्मती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती प्रदेशको तराई र कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना छ ।