पार्टी सञ्चालनमा मोदीको आर्थिक मोडल, भाजपाको एक वर्षको कमाई साढे २३ अर्ब भारू

मूलखबर संवाददाता
काठमाडौं

भारतमा सबैभन्दा धनी पार्टी भारतीय जनता पार्टी (भाजपा) रहेको देखिएको छ । आर्थिक वर्ष सन् २०२२/२३ मा भारतका ६ राजनीतिक पार्टीले आफ्नो आय–व्यय पेस गरेको एडीआरले प्रतिवेदनमा उल्लेख गरेको छ ।

एसोसिएसन फर डेमोक्रेटिक रिफर्म (एडीआर)ले सार्वजनिक गरेको एक प्रतिवेदनानुसार उक्त आर्थिक वर्ष भारतका ६ राष्ट्रिय राजनीतिक पार्टीले ३० अर्ब ७७ करोड भारतीय रुपैयाँ आर्जन गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनानुसार, भाजपाले मात्र आर्थिक वर्ष २०२२/२३ मा २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारतीय रुपैयाँ आर्जन गरेको छ । अर्थात्, ६ राष्ट्रिय दलले आर्जन गरेको कुल रकममा ७६.७ प्रतिशत हिस्सा भाजपाको मात्र छ ।

आर्थिक वर्ष २०२२/२३ मा भारतीय राष्ट्रिय कांग्रेसले चार अर्ब ५२ करोड ३७ लाख पाँच हजार भारतीय रुपैयाँ आर्जन गरेको जनाइएको छ ।

भारतमा धेरै कमाइ गर्ने राजनीतिक पार्टीको सूचीमा कांग्रेस दोस्रो नम्बरमा छ । ६ राष्ट्रिय पार्टीले आर्जन गरेको कुल रकममा कांग्रेसको हिस्सा १४.७० प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ ।

भाजपा र कांग्रेसबाहेक बीएसपी, आम आदमी पार्टी, नेसनल पिपुल्स पार्टी र सीपीआई (एम)ले आफ्नो आय घोषणा गरेका छन् ।

एनडीआरको प्रतिवेदनानुसार, आर्थिक वर्ष २०२१/२२ र २०२२/२३ का बीचमा भाजपाको आय निकै बढेको छ । २०२१/२२ मा भाजपाको आय १९ अर्ब १७ करोड १२ लाख भारतीय रुपैयाँ थियो । २०२२/२३ मा भाजापको आय बढेर २३ अर्ब ६० करोड ८४ लाख ४० हजार भारु पुगेको छ ।

यस्तै, आर्थिक वर्ष २०२१/२२ मा आम आदमी पार्टीको आय ४४ करोड ५३ लाख भारु थियो । आर्थिक वर्ष २०२२/२३ मा आइपुग्दा आम आदमी पार्टीको आय ८५ करोड १७ लाख भारु पुगेको छ । अर्थात्, आम आदमी पार्टीको कमाइ ९१.२३ प्रतिशतले वृद्धि भएको छ ।

आर्थिक वर्ष २०२२/२३ मा कांग्रेसको आय चार अर्ब ५२ करोड ३७ लाख ५० हजार र खर्च चार अर्ब ६७ करोड १३ लाख ५० हजार भारु भएको प्रतिवेदनमा उल्लेख छ ।

२०२२/२३ मा भाजपाको आम्दानी २३ अर्ब ६० करोड ८४ लाख ४० हजार र खर्च १३ अर्ब ६१ करोड ६८ लाख ४० हजार भारु भएको प्रतिवेदनमा उल्लेख छ । अर्थात्, उक्त वर्ष भाजपा नौ अर्ब ९९ करोड १६ लाख भारु नाफामा छ ।

एजेन्सी