
भिमसेन थापा गापाद्वारा नागरिककाे निशुल्क विमा, दियाे उपचार खर्च
गोरखाको भीमसेन थापा गाउँपालिकाले आफ्ना नागरिकको निशुल्क दुर्घटनामा विमा गराएको छ । विमा मात्रै गराएको हाेइन दुर्घटनामा परेका नागरिकलाई दुर्घटना बिमामार्फत उपचारबापतको रकमसमेत भुक्तानी गरेको छ।
बिमा पोलिसीअनुसार उपचारका क्रममा खर्च भएको रकम बिमामार्फत भुक्तानी गरिएको गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जराले जानकारी दिएका छन् ।
अध्यक्ष बञ्जराले भीमसेन थापा गाउँपालिका स्थायी घर भएका नागरिक कुनै प्रकारको दुर्घटना परे उपचार बिमा पोलिसीअनुसारको खर्च र ज्यान गुमाएमा सम्बन्धित व्यक्तिका परिवारले रु. ५० हजार पाउने गरी पालिकाले निःशुल्क दुर्घटना बिमा गरिदिएको बताए।
पालिकाभित्रका सबै नागरिकको निःशुल्क रूपमा सामूहिक दुर्घटना बिमा गरिदिएको गाउँपालिकाले कार्यक्रम लागू भएपछि दुर्घटनामा परेका दुईजनालाई रकम भुक्तानी गरेको हो।
‘खाटमा सुतेका वेला लडेर घाइते भएका वडा नम्बर ७ स्थित बोर्लाङका डिल्लीराम रेग्मी र धान कुट्ने मिलले औँला काटेर घाइते भएकी कल्पना श्रेष्ठलाई वडामा पुगेर उपचार खर्च उपलब्ध गराएका हौँ,’ उनले भने, ‘पालिकाले राष्ट्रिय बिमा कम्पनी लिमिटेडसँग गरेको सम्झौताअनुसार दुर्घटनामा परेका नागरिकले उपचार खर्च पाएका छन्।’
गत असार ३१ गते खाटबाट लडेर घाइते भएका रेग्मीले उपचारका लागि खर्च भएको रु. नौ हजार पाँच सय ७० र गत कात्तिक २ गते मिलले हात काटेर घाइते भएकी श्रेष्ठले रु. तीन हजार तीन सय २५ बिमामार्फत प्राप्त गरेका हुन्।
पालिकाभित्रका सबै १६ हजार नौ सय ८६ नागरिकको निःशुल्क दुर्घटना बिमा गरिएको अध्यक्ष बञ्जराले बताए। राष्ट्रिय जनगणना ०७८ को अन्तिम प्रतिवेदनका आधारमा पालिकामा बसोवास गर्दै आएका तथा पालिका स्थायी ठेगाना भएका सबै नागरिकको सामूहिक दुर्घटना बिमा गरिएको उनको भनाइ छ।
अध्यक्ष बन्जारा नेकपा माओवादी केन्द्रबाट निर्वाचित अध्यक्ष हुन् । उनी नेकपा माओवादीका केन्द्रीय सदस्य समेत हुन् । उनी जनयुद्धका सहिद परिवार हुनुका साथै स्थापित जनपत्रकार नेता पनि हुन् । उनी जनमुखि र जनताको पक्षमा दिनरात खटिरहेका जननेता भनेर स्थानिय पालिका बासीले विश्लेषण गर्ने गरेका छन् ।
