हिल्सा सिमकोट सडकको लम्बाइ कसरी छोटियाे ?

मूलखबर संवाददाता
हुम्ला

उत्तरी क्षेत्रको हिल्सा सिमकोट सडकको लम्बाइ छोटिएको पाइएको छ । सडक निर्माणका क्रममा घुम्तीहरू घटेपछि यसअघि रहँदै आएको दूरीमा कमी देखिएको हो ।

हिल्सा सिमकोट सडक आयोजनाका योजना प्रमुख बेलबहादुर नेपालीले सिमकोट हिल्सा सडकको लम्बाइ छोटिएको जानकारी आफूलाई फिल्डमा काम गर्ने सुपरभाइजरबाट आएको बताउनुभयो । सिमकोटबाट हिल्सासम्मको ९५ किलो मिटर दूरी यसअघि सो सडकको सर्भे गर्ने क्रममा थियो । अहिले पनि आम मानिसलाई हिल्सा सिमकोट सडकको दूरी सोही रहेको जानकारी छ । उहाँले आफूलाई आएको जानकारी अनुसार हाल सो सडकको लम्बाई ९३ किलोमिटरमा झरेर दुई किलोमिटर सडकको लम्बाइ घटेको बताउनुभयो । उहाँले सो खण्डको सडकको लम्बाई यसरी घट्नुमा धेरै स्थानमा सडक निर्माणका क्रममा घुम्तीहरू ( लुप ) घटेको कारण हुन सक्ने बताउनुभयो ।

स्थलगत रूपमा खटिएका साइट सुपरभाइजरबाट सडकको दूरी घटेको जानकारी आएपछि अब आयोजनाले एक पटक पुन हिल्सालाई जिरो बिन्दु मानेर पुनः सडकको नाप लिने कार्य गर्ने भएको छ । अहिले पनि आयोजनाले सडक खण्ड अन्तर्गतका विभिन्न स्थानको दूरीका बारेर जानकारी दिन कठिन भएको जनाएको छ । सडकमा दूरीसमेत उल्लेख गरेको कतै देखिँदैन । यसका लागि पनि आयोजनाले स्थानसम्मको दूरी, बेलिब्रिजको जानकारी, कल्भर्टका जानकारी, पक्की पुलको जानकारी दिने सूचना पार्टी कतै राखेको देखिँदैन ।

यसका लागि पनि आयोजनाले एक पटक दूरी यकिन गरेर जानकारी दिने वितरण राख्ने तयारी गरेको हो । हिल्सा सिमकोट सडकको प्रारम्भिक ट्र्याक खुलाउने कार्य सम्पन्न भएर हाल यातायातका साधन सञ्चालन हुँदै आएका छन् । ती सडकमा स्तरोन्नतिको कार्य जारी छ । पैदल यात्रुहरूलाई सिमकोटबाट हिँडेर चार दिन लाग्ने दूरीलाई हाल आठ घण्टामा सिमकोटबाट हिल्सा पुग्न सकिने भएको समाचार गोरखापत्रमा छ ।