जनयुद्ध दिवसमा दिप प्रज्ववलन, सहिद वेपत्ता परिवारले मनाए जनयुद्ध दिवस

मूलखबर संवाददाता
काठमाडौं, १ फागुन

जनयुद्ध दिवसको अवसरमा राजधानीमा दिप प्रज्ववलन गरिएको छ । २०५२ फागुन १ मा शुरू भएको जनयुद्धको २८ वर्ष पूरा भई २९ वर्ष प्रवेशकाे अवसरमा नेकपा माओवादी केन्द्र उपत्यका विशेष प्रदेश समितिकाे आयाेजनामा संघीय  राजधानी काठमाडौंकाे शान्तिबाटीकामा साँझ आयाेजित दिप प्रज्ववलन कार्यक्रम आयाेजना गरिएको थियाे ।

कार्यक्रममा माओवादी केन्द्रका बागमती  प्रदेश अध्यक्ष सरल सहयात्री पाैडेलले सम्वाेधन गर्दै माओवादी जनयुद्ध गाैरववूर्ण आन्दोलन भएको र जसले जे भनेपनि नेपालकाे आर्थिक सामाजिक रूपान्तरण र परिवर्तन जनयुद्धकै कारण सम्भव भएको बताए  ।

कार्यक्रममा उपत्यका विशेष प्रदेश समितिका अध्यक्ष जगत सिंखडाले माओवादी जनयुद्धको कारण नै नेपालमा गणतन्त्र, संघियता, समावेशी समानुपातिक व्यवस्था लगायतका परिवर्तनका एजेन्डाहरू स्थापित भएकाले जनयुद्ध दिवस युगयुगसम्म मनाइरहने बताए ।

कार्यक्रममा उपत्यका विशेष प्रदेश अन्तरगतका महाशाखाका सदस्यहरूकाे सहभागीता रहेकाे थियाे ।

यसैगरी जनयुद्धका सहिद र वेपत्ता परिवारले पनि जनयुद्ध दिवसका अवसरमा दिप प्रज्ववलन गरेका छन् । ललितपुर स्थित धापाखेलमा सहिद दिनेशका परिवार भगवती प्रधान र वेपत्ता याेद्वा भिम गिरीका परिवार टीका बास्ताेलाकाे निवासमा आयाेजित कार्यक्रममा दिप प्रज्ववलन गरिएकाे हाे । साे अवसरमा सहिद परिवार तथा संविधानसभा सभासद लक्ष्मी गुरूङ, गंगा पराजुली, प्रतिनिधिसभा सदस्य उर्मिला माझी, मिना तामाङ, वागमती प्रदेश सांसद अमृता नेपाललगायतकाे सहभागीता रहेको थियाे ।