स्पोर्ट्स अवार्डः दीपक अधिकारी र राजपुरा पछाई वर्षकै उत्कृष्ट खेलाडी
एथलेटिक्सका दीपक अधिकारी र राजपुरा पछाई एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७९ को वर्ष खेलाडी घोषित भएका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ) ले आइतबार आयोजना गरेको कार्यक्रममा दीपक पुरुषमा र राजपूरा महिलामा वर्ष उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
यस संस्करणदेखि सुरु गरिएको शीर्ष तीनबाट दीपक र राजपुरा वर्ष उत्कृष्ट खेलाडी भए । याक एन्ड यति होटलमा सम्पन्न अवार्डमा दीपकले क्रिकेटका रोहितकुमार पौडेल र आसिफ सेखलाई पछाडि पारे ।
महिलामा राजपुराले एथलेटिक्सकै पुष्पा भण्डारी र बास्केटबलकी अनुसा मल्ललाई पछि पारिन् । दीपक १६औं एसियाली क्रसकन्ट्री दौडमा दुई स्वर्ण विजेता हुन् । राजपुराले पनि सोही च्याम्पियनसिपमा दुई रजत पदक जितेकी थिइन् ।
दीपकलाई गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छाले अवार्ड प्रदान गरे । राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का सदस्यसचिव टंकलाल घिसिङले राजपुरालाई अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट खेलाडीद्वय दीपक र राजपुराले बजाज पल्सर एन २५० मोटरसाइकल पुरस्कार पाए । टेबल टेनिसकी खेलाडी सिक्का सुवाल श्रेष्ठले पिपुल्स च्वाइस अवार्ड जितिन् ।
ईसेवाको भोटिङ, मञ्चका सदस्यको मत, फेसबुक लाइक र प्रमुख प्रशिक्षकको मतका आधारमा सिक्का विजेता भएकी हुन् । सिक्काले सर्वाधिक ४४।८ प्रतिसत मत प्राप्त गरिन् । यस अवार्डको मनोनयनमा करातेका विप्लभलाल श्रेष्ठ, फुटबलका अनन्त तामाङ, भलिबलकी निरुता ठगुन्ना र शारीरिक सुगठनकी रजनी श्रेष्ठ थिए ।
सिक्काले बजार पल्सर मोटरसाइकल प्राप्त गरिन् । उनलाई ईसेवाको चिफ बिजनेस अफिसर आशिष गौतम र केल्मी नेपालका प्रतिनिधि दीपक विष्टले अवार्ड प्रदान गरे । वर्ष उत्कृष्ट प्रशिक्षक पनि एथ्लेटिक्सकै प्रशिक्षक चन्द्र गुरुङ घोषित भए । यो अवार्ड विजेता गुरुङले पनि पल्सर एन १६० मोटरसाइकल पाए ।
उनलाई सूर्य नेपाल प्रालीका प्रतिनिधि विदूर अधिकारी र युनाइटेड अजोड इन्स्युरेन्स प्रालीका सिनियर डिसिइडी कुमारबहादुर खत्रीले अवार्ड प्रदान गरे । गुरुङको प्रशिक्षणमा १६औं एसियाली क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले दुई स्वर्णसहित ऐतिहासिक पदक प्राप्त गरेको थियो ।
उक्त च्याम्पियनसिपमा नेपालले सिनियरमा दुई स्वर्ण र एक कांस्य तथा जुनियरमा दुई रजत र एक कांस्य पदक प्राप्त गरेको थियो । प्रशिक्षक गुरुङले बक्सिङका दीपक महर्जन र क्रिकेटका जगत टमटालाई पछि पारे । युवा वर्ष खेलाडी क्रिकेटका देव खनाल घोषित भए ।
उनी नेपालले आठ वर्षको खडेरी तोड्दै २०२४ को आइसिसी यु–१९ विश्वकप क्रिकेट छनोट गराउन सफल कप्तान हुन् । देवकै कप्तानीमा नेपालले युएईलाई फाइनलमा हराउँदै एसिया छनोटको उपाधि जित्न सफल भएको थियो । उनले एथलेटिक्सकी राममाया बुढा र बक्सिङकी सुष्मा तामाङ पछि पार्दै यो अवार्ड जिते ।
देवले अवार्डसँगै पल्सर एन १६० मोटरसाइकल पुरस्कार पाए ।
उनलाई होटल याक एन्ड यतिकी महाप्रबन्धक मोनिका साई ब्लावर र इड्राइभ नेपाल प्रालीका अध्यक्ष राजेश मास्केले अवार्ड प्रदान गरे । एनएसजेएफ पारा एथ्लिट अवार्डबाट मैयाँ बिसुङ्खे सम्मानित भइन् । उनले ट्रफीसँगै ५० हजार रुपैयाँ नगद पुरस्कार पाइन् । उनी सन् २००६ देखि पारा खेलकुदमा सक्रिय छन् । लाइफ टाइम एचिभमेन्ट अवार्ड पहिलो ओलम्पियन एवम् भारोत्तलक राजेन्द्रकुमार प्रधानले प्राप्त गरे । खेलाडी र प्रशिक्षकका रूपमा उनी झन्डै साढे पाँच दशक भारोत्तोलन खेलमा सक्रिय छन् ।
प्रधानलाई नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुबेदी र महासचिव प्रज्वल ओलीले अवार्ड र ५० हजार रुपैयाँ प्रदान गरे । स्पेसल अवार्डबाट फोटो पत्रकार र पोखरेली खेलकुद अभियन्ता सुदर्शन रन्जित सम्मानित भए । उनी चार दशकभन्दा बढी पोखराका खेल गतिविधिमा सक्रिय छन् । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समीरजंग शाह र नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले अवार्ड प्रदान गरे । एसियन स्पोटर््स जर्नालिस्ट अवार्डबाट हङकङ रेमण्ड चुलाई प्रदान गरिएको छ । उनलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले अवार्ड प्रदान गरे ।