अब सबै स्तरका रेडियोकाे लाइसेन्स र नविकरण जिल्लाबाटै

मूलखबर संवाददाता
काठमाडौं, २६ माघ

अब सबै स्तरका रेडियोकाे इजाजतपत्र र नविकरण सम्वन्धित जिल्लाबाटै गर्न सकिने भएको छ । सूचना सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले मन्त्रीस्तरिय निर्णय गर्दै साे व्यवस्था लागू गरिएको हाे ।

साे निर्णयसँगै देशभरिका रेडियोले लाइसेन्स तथा इजाजतपत्र नवीकरणका लागि विभिन्न निकाय धाउनुपर्ने र प्रमाणीकरणका लागि मात्रै काठमाडौ पुग्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ ।

सूचना सञ्चार तथा प्रविधि मन्त्रीका प्रेस सल्लाहकार नरेन्द्र केसीले मन्त्रीस्तरीय निर्णयबाट सम्पूर्ण क्षमताका एफएम रेडियोको नवीकरण/अध्यावधिक जिल्लाबाटै गर्ने गरी हुलाकलाई अधिकार प्रत्यायोजन गरिएको बताउनुभयाे ।

उहाँका अनुसार सबै प्रक्रिया अनलाइनमार्फत हुन्छ, मन्त्रालयकाे निकायबाट अनलाइन मार्फत नै आवश्यक डकुमेन्टहरूकाे अध्ययन र मुल्यांकन हुन्छ र सबै प्रक्रिया सकिएपछि हुलाकमा गएर प्रमाणपत्रमा छाप लगाएर लिन सकिने व्यवस्था गरिएको छ ।