
सुदूरपश्चिममा घुम्ती सिनेमा अभियान सम्पन्न
चलचित्र विकास बोर्डले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा घुम्ती सिनेमा साक्षरता अभियान सम्पन्न गरेको छ ।
बोर्ड सदस्य राजु केसीको नेतृत्वमा माघ १७ देखि प्रारम्भ भएको घुम्ती सिनेमा साक्षरता अभियान अन्तर्गत अछाम जिल्लाको साँफेबगर र मंगलसेन, डडेल्धुराको अमरगढी नगरपालिकाका २ ठाउँ, डोटी जिल्लाको जोरायल गाउँपालिकाको बुडर र कैलाली जिल्लाको घोडाघोडी नगरपालिका पहलमानपुरमा चलचित्र प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रमहरु गरिएको थियो । अभियानमा स्थानीय कलाकार, जनप्रतिनिधि, विद्यार्थी, व्यवसायी एवं दर्शकहरुको उत्साहजक सहभागिता रहेको बोर्ड सदस्य केसीले बताउनु भयो ।

अभियानमा चलचित्र विकास बोर्डले विशेष चलचित्रको अवार्ड प्रदान गरेका चलचित्रहरु बुलाकी,एट अनोदर विन्टर, ह्विल्स अन द बस, जुनको र ऐना झ्यालको पुतली प्रदर्शन गरिएको थियो । साथै त्यसक्रममा अछाममा कलाकार जनक साउदको संयोजकत्वमा सिनेमा क्लब गठन गरिएको थियो ।
सिनेमाघरको पहुँच बाहिर रहेका वस्ती र समुदायमा सिनेमा हेर्ने संस्कृतिको विकास गर्ने, राष्ट्रिय चलचित्रको बजारीकरण र सिनेमा साक्षरता विषयमा आम दर्शकलाई सु–सुचित गर्ने, घुम्ती सिनेमा वा सिनेमा क्लब सञ्चालन गरी दर्शकहरुलाई चलचित्र सम्बन्धी ज्ञान र रुचि अभिवृद्धि गर्ने, मौलिक नेपाली चलचित्र निर्माण एवं प्रवद्र्धनबारे दर्शकहरुको रुचि, प्रतिक्रियाबारे धारणा बुझ्ने उद्देश्यले विगत केही वर्षदेखि बोर्डले घुम्ती सिनेमा साक्षरता अभियान शुरु गरेको हो ।

