आर्टिफिसियल इन्टेलिजेन्सको जमाना,टिभीमा एआई प्रस्तोतालाई पत्याउन सकिन्छ !
विश्वका धेरै टेलिभिजन च्यानलहरूमा यस्तो दृश्य त्यति धेरै देखिँदैन।
तर सामाजिक सञ्जालमा पोस्ट भएको एउटा भिडिओमा २२ मिनेटसम्म चिटिक्क परेका फरक फरक समाचार प्रस्तोताहरू क्यामराअघि उभिएर दिनभरिको समाचार प्रस्तुत गर्छन्।
टीभीको पर्दामा देखिएका ती व्यक्तिहरू वास्तविक मानव होइनन्।
ती सबै प्रस्तोता आर्टिफिशल इन्टेलिजेन्स अर्थात् एआईको प्रयोग गरेर तयार गरिएका हुन्।
लस एन्जलसस्थित च्यानल १ ले यस्ता भिडिओहरू बनाएर सामाजिक सञ्जालमा राखिरहेको छ।
यो च्यानल व्यवसायीहरू एडम मोसम र स्कट जबिएल्सकीले बनाएको नवप्रवर्तन उद्यम हो।
उनीहरूले यसै वर्षको अन्त्यसम्ममा एआईबाट तयार गरिएका समाचारहरू प्रस्तुत गर्ने टेलिभिजन च्यानल सुरु गर्ने योजना बनाएका छन्।
“समाचार हेर्ने मानिसहरूलाई नयाँ कुराको अनुभव गर्न दिने रोचक अवसर देखिएको छ,” मोसम भन्छन्।
एआई प्रविधिले एउटा भाषामा भएको समाचार र अन्तर्वार्ता अर्को भाषामा रूपान्तरित गर्न सहयोग गर्नसक्छ।
गत डिसेम्बरमा सामाजिक सञ्जालमा शेअर गरिएका भिडिओहरूमा च्यानल १ ले यसको अभ्यास गरिसकेको छ।
एआईको प्रयोग गरेर समाचार प्रस्तोताहरू तयार गर्ने कार्यको विश्वमा पछिल्लो अभ्यास गर्ने च्यानल १ भए पनि यस्ता अभ्यास यसअघि नै भइसकेका छन्।
सन् २०२३ को अप्रिलमा कुवेत टाइम्समा एआई सिर्जित कृत्रिम प्रस्तोता फेदाले समाचार वाचन गरेको थियो।
ग्रीक सरकारी च्यानल ईआरटीमा २०२३ कै मे मा एआई सिर्जित हर्मेस नाम दिइएको एआईले समाचार प्रस्तुत गर्यो।
यो क्रम यतिमा मात्रै सीमित छैन। दक्षिण कोरियाको प्रसारक एसबीएसले पनि गतवर्ष जे-इन नाम दिइएको एआई सिर्जित डिपफेकलाई पाँच महिनासम्म समाचार प्रस्तुत गर्ने जिम्मेवारी दियो।
यस्तै एआई सिर्जित प्रस्तोताहरूबाट समाचार वाचन गर्ने अभ्यास भारत र ताइवानमा पनि भइसकेको छ।
एआईलाई मानिसहरूले विश्वास गर्छन्?
यसबारे एउटा प्रश्न भने अझै सुल्झिइसकेको छैन: के दर्शकहरूले एआईबाट प्रस्तुत भएका समाचारहरूलाई मानिसहरूले प्रस्तुत गरेको जत्तिकै विश्वास गर्छन्?
जनमत सर्वेक्षण गर्ने कम्पनी इप्सोसले गरेको एउटा अध्ययनले मानिसहरूबाट प्रस्तुत हुने समाचारमाथिको विश्वासमा अहिलेसम्मकै सबैभन्दा धेरै गिरावट आएको देखाए छ।
एक वर्ष अघि भन्दा १६ प्रतिशतले घटेर यो वर्ष यूकेका जम्मा ४२ प्रतिशत मानिसहरूले मात्रै समाचार प्रस्तोताहरूमा विश्वास गर्ने गरेको बताएका छन्।
समाचार प्रस्तोताहरूलाई शङ्का गर्ने मानिसहरू व्यक्तिगत क्रिएटर वा इन्फ्लुएन्सरहरूबाट समाचार वा जानकारी लिन मन पराउँछन्।
ती सामाजिक सञ्जालका स्टारहरूको आफ्ना स्रोताहरूसँगको सम्बन्धलाई ‘पारासोशल’ प्रभाव भनिन्छ।
सिकागो युनिभर्सिटीका विज्ञहरूले यो शब्दको प्रयोग पहिलो पटक सन् १९५० को दशकमा गरेका हुन्।
समाचार प्रस्तुत गर्ने मानिसहरूले क्यामरामा हेरेर बोलिरहँदा सीधा आफूलाई सम्बोधन गरेर बोलिरहेको ठान्ने दर्शहरूको बुझाइलाई यो शब्दले परिभाषित गरिएको थियो।
हरेक साँझ समाचार सुनाउने, आफ्नै घरको कोठामा देखिने समाचार प्रस्तोताहरू पत्रकारहरू भन्दा धेरै परिचित भएका थिए।
पछिल्लो समय सामाजिक सञ्जालका इन्फ्लुएन्सरहरूले त्यस्तै तरिका अपनाए। उनीहरूले क्यामरामा हेरेर सीधा दर्शक वा स्रोतालाई सम्बोधन गर्ने शैली अपनाए।
टोरन्टो विश्वविद्यालयमा डिजिटल प्लेटफर्म र श्रम अध्यापन गर्ने क्रिस्टिन एच ट्रान आफूभन्दा टाढा रहेका समाचार प्रस्तोताहरूसँग नजिक महसुस गर्नेबाट पारासोशलको परिभाषा अझै व्यापक भएको बताउँछिन्।
“तपाईँ ट्विच (लाइभ स्ट्रिमिङ साइट)मा लाइभ गर्ने संवाददातासँग पनि पारासोशलको सम्बन्धमा रहन सक्नुहुन्छ,” उनी भन्छिन्।
“सँगसँगै तपाईँ एक जना युट्यूबर, गायक वा इन्स्टाग्राममा देखा पर्ने जोडीसँग पनि पारासोशल सम्बन्ध महसुस गर्न सक्नुहुन्छ।”
‘रोबोटले मानिसले भन्दा राम्रो गर्ने विश्वास होइन’
तर एआईले यस्तो व्यक्तिगत सम्बन्ध मानिसहरूसँग स्थापित गर्ने सम्भावना कम हुन्छ।
“तपाईँले जति धेरै अर्को मानिससँग आफ्नो सम्बन्ध बनाउन सक्नुहुन्छ एआईसँग त्यो सक्नुहुन्न,” मोसम स्वीकार गर्छन्।
तर मानिसहरूले त्यसप्रकारको निष्पक्षताको खोजी नगरेको उनको दाबी छ।
“हामी रोबोटले मानिसहरूले भन्दा यो काम राम्रोसँग गर्न सक्छन् भनेर यस्तो गरिरहेका छैनौँ। त्यसो भन्नु हास्यास्पद हुन्छ,” उनी भन्छन्।
पत्रकारहरूले समाचार वाचन नगर्ने सोच त्यति धेरै असामान्य पनि होइन। अनि कम्प्युटर जेनेरेटेड प्रणालीले समाचार वाचन गर्ने उपाय पनि अनौठो होइन।
“मैले पत्रकारिता सुरु गर्दा समाचार वाचन गर्ने कालाकारहरू हुन्थे” बीबीसीका पूर्व सम्पादक समेत रहिसकेका अक्फर्ड विश्वविद्यालय स्थित रोएटर्स इन्स्टिच्टूड फर स्टडी अफ जर्नलिजम्का वरिष्ठ अनुसन्धान सहायक निक न्यूमेन भन्छन्।
“मानिसहरू त्यसलाई सहज नै मानिरहेका थिए।”
समाचार वाचन गर्ने सधैँ पत्रकार मात्रै हुँदैनन् भन्ने यो तथ्यलाई हेर्ने हो भने एआईको प्रयोग गरेर भइरहेको अभ्यास केही सीमितता हुँदाहुँदै सफल पनि हुनसक्ने न्यूमेन बताउँछन्।
एआईको प्रयोग छोटाछोट समाचार बुलेटिनहरूमा मात्रै उपयोगी हुनसक्ने उनी बताउँछन्।
तर मानिसहरूले एआईबाट सिर्जित समाचार प्रस्तोताहरूसँग पारासोशल सम्बन्ध महसुस गर्नेमा उनलाई आशङ्का छ।
“समाचारसम्बन्धी कार्यक्रमहरू सञ्चालनका लागि वास्तवमै मानिसहरूको महत्त्व हुन्छ भन्ने मलाई लाग्छ,” उनी भन्छन्।
टोरन्टो विश्वविद्यालयकी ट्रान पनि यसबारे अनिश्चितता रहेको बताउँछिन्।
“यदि प्रसारकहरूले नै एआईबाट बनाइएका सामग्रीहरू प्रसारण गर्ने बताएको अवस्थामा र पर्दा पछाडि ती प्रस्तोताहरूको व्यक्तिगत जीवन नरहेको थाहा पाएका दर्शकहरूलाई एआई निर्मित व्यक्तित्वहरूले पारासोशलिटिका लागि प्रेरित गर्लान् र?” उनको प्रश्न छ।
“इन्स्टाग्रामले जस्तै एआईको प्रयोग गरेर बनाइएका सामग्रीहरूलाई उत्पादकले लेबल दियो भने फरक पर्नसक्छ।”
मानव संलग्नता नभइ सम्भव छ?
च्यानल १ र न्यूज जीपीटीले सम्पूर्ण रूपमा एआईको प्रयोगबाट समाचार सामग्री उत्पादन गरिरहेको दाबी गरेका छन्।
तर उनीहरूले पनि एउटा प्रश्नको जवाफ दिन सकेका छैनन्। त्यो भनेको के यो प्रक्रिया मानवको संलग्नता नभइ सम्भव छ?
अहिले च्यानल १ मा एक दर्जनको सङ्ख्यामा रहेका कर्मचारीहरूले एआईले तयार गरेका समाचारका मस्यौदाहरू जाँच गरिरहेका छन्।
उनीहरूले एआईले समेट्ने समाचारहरू पनि छनौटमा सहयोग गरिरहेका छन्।’
समाचारका लागि योग्य विषयको पहिचान र छनौटमा पनि एआईलाई चुनौती हुनसक्ने मोसम र न्यूमेन स्वीकार गर्छन्।
च्यानल १ ले परीक्षणका लागि तयार गरिरहेका शृङ्खलाहरू मानव पत्रकारहरूले पत्ता लगाएका समाचारहरू र दृश्यहरूमा आधारित छन्।
“यदि उनीहरूलाई यी स्रोतहरूको पहुँच बन्द गरियो भने एआईले कसरी समाचार सामग्रीहरू तयार गर्छन् भन्नेमा मलाई शङ्कै छ,” न्यूमेन भन्छन्।
“कच्चा सूचना नभएसम्म एआईले काम गर्ने आधार नै मैले देखेको छैन,” उनी भन्छन्।
मोसम पनि एआईले गर्न सक्ने र नसक्ने कामहरूको सीमा रहेको बताउँछन्।
“मानिसहरूको संलग्नता विना एआईबाट मात्रै मात्रै समाचार सङ्कलन गर्ने कुरा च्यानल १ को अहिलेको योजनामा पनि छैन,” उनले भने।