
घटिरहेको छ काठमाडौंको तापक्रम, आइतबार यो वर्षकै कम
काठमाडौं उपत्यकामा चिसो बढ्दो क्रममा छ। केही दिनअघिदेखि क्रमशः घट्दै गएर न्यूनतम तापक्रम २.२ मा झरेको काठमाडौंको तापक्रम आइतबार २.१ डिग्रीमा आएको थियो।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद मीनकुमार अर्यालले काठमाडौंको न्यूनतम तापक्रम यस वर्षकै सबभन्दा कम २.१ डिग्री अभिलेख भएको बताए। आइतबार सबभन्दा कम जुम्लामा माइनस ४.९ र जोमसोममा माइनस ४.५ डिग्री रहेको पनि जानकारी दिए।
सोमबार, देशका केही भू–भागमा आज हिमपातको सम्भावना छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको हो । पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले वर्षाको सम्भावना छैन ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मुख्यतया सफा छ । तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो लागेको छ । आज बिहान ५ः४५ को काठमाडौंको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको छ । आइतबार काठमाडौंमा यो वर्षकै हालसम्मको न्यून तापक्रम २.१ डिग्री सेल्सियस मापन गरिएको थियो ।
विभागले दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।
विभागका अनुसार राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
