भिजिट भिसामा जानकाे लागि माघ १० देखि लागू भयाे यस्तो नियम, के के चाहिन्छ कागजात ?

मूलखबर संवाददाता
काठमाडौं, ९ माघ

तपाईं कुनै मुलुकमा भिजिट भिसामा जाँदै हुनुहुन्छ ? यदि त्यसकाे तयारीमा हुनुहुन्छ भने ध्यान दिनुहाेस् । सरकारले भिजिट भिसामा कडाइ गरेको छ, आवश्यककागजात र मापदण्ड पूरा गरेर मात्रै एयरपोर्ट जानुहाेला ।

के के हुन्त नयाँ नियम र मापदण्ड ?

सरकारले माघ १० गतेदेखि लागू हुने गरी भिजिट तथा पर्यटक भिसामा विदेश यात्रामा जानका लागि आवश्यक पर्ने कागजातबारे स्पष्ट पारेको छ ।

भिजिट भिसामा यात्रा गर्दा सहजीकरणको लागि यसअघि जारी भएको निर्णय खारेज गर्ने गर्दै अध्यागमन विभागले नयाँ व्यवस्था गरेको हो ।

जसअनुसार यात्रा अनुमति पाउन कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्नेछ ।

सम्बन्धित देशको प्रवेशाज्ञा वा  अनअराइभल प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने व्यवस्था गरिएको छ ।

दुईतर्फी हवाई टिकट हुनुपर्ने, भ्रमण अवधिभर होटेल बुकिङ गरेको प्रमाण वा होटेल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ता भित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र हुनुपर्ने छ ।

भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणा पत्र वा सो नभएमा कम्तीमा ५०० अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेबिटरक्रेडिट कार्ड) पनि हुनुपर्नेछ ।

संयुक्त अरब ईमिरेटस्, बहराईन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा भिजिट भिसामा भ्रमण गर्दा अनुसूची २ बमोजिम स्वःघोषणा गर्नु पर्ने र स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने नयाँ व्यवस्थामा उल्लेख छ ।

भिजिट भिसा वा पर्यटक भिसामा विदेश जाँदा आफन्त भेट्ने र घुम्ने लगायत भिसाको उद्देश्य अनुसारका काम मात्र गर्न विभागले अनुरोध गरेको छ । भिसाको अवधिभित्रै स्वदेश फर्कन समेत सरकारले अनुरोध गरेको छ ।

भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन विभागले अनुरोध गरेको छ ।

सरकारले भिजिट भिसाको नाममा दलाल तथा एजेन्टहरूलाई अनावश्यक रकम नदिन पनि अनुरोध गरेको छ । विदेशमा रहेका आफ्ना आफन्तलाई भेट्ने वा पर्यटकको रूपमा विदेश घुम्ने उद्देश्य लिई नेपालबाट विदेश प्रस्थान गर्नेले दलालहरूलाई पैसा नदिन आग्रह गरेको हो ।