क्याम्पसमा छात्रा मात्रै, सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा

मूलखबर संवाददाता
अछाम

भर्ना हुने थोरै र कक्षा छाड्ने धेरै हुन थालेपछि पहाडी जिल्लाका सामुदायिक क्याम्पस बन्द हुने अवस्थामा पुग्न थालेका छन् । अछामका ७ वटै क्याम्पसमा नयाँ भर्ना दर घटेको हो । जति भर्ना हुन्छन्, ती पनि छात्रा मात्रै छन् ।

मंगलसेनस्थित अछाम बहुमुखी क्याम्पसका प्रमुख छत्र विष्टका अनुसार स्नातक तह शिक्षा र व्यवस्थापन संकायका विद्यार्थी तेस्रो र चौथो वर्ष नपढेरै हराउने गरेका छन् । ‘हाम्रो क्याम्पसमा विद्यार्थीमध्ये ८० प्रतिशतभन्दा बढी छात्रा छन्, अन्तिम वर्षसम्म पढ्ने र परीक्षा दिने धेरै कम छन्,’ विष्टले भने, ‘छात्रहरू १२ कक्षासम्म पास गरेर वैदेशिक रोजगारीतिर आकर्षित हुन्छन् । गाउँमा छोरा मान्छे नै छैनन् भन्दा हुन्छ । यहाँका क्याम्पस त घरबाट टाढा जान नसकेका छोरीहरू मात्रै पढ्नेजस्ता भएका छन् । उनीहरू पनि नियमित छैनन् ।’

स्नातक तह पास गरिसकेपछि पनि रोजगारी निश्चित नभएको, घरभन्दा बाहिर बसेर पढ्नुपर्नेजस्ता कारणले क्याम्पसहरूमा विद्यार्थी भर्ना कम हुन थालेको हो । त्यसैले विद्यार्थीलाई उद्यमशीलतासँग जोड्नुपर्ने विष्टले बताए । ‘यसका लागि चालु वर्षमा हामीले विभिन्न योजना समेटेका छौं,’ उनले भने ।

‘पढाइसँगै विद्यार्थीलाई व्यावसायिक बनाउन मौरी, कुखुरा, कालिज पालनको योजना बनाएका छौं । सरकारका विभिन्न निकायसँग आर्थिक सहयोग पनि मागिरहेका छौं,’ उनले भने । विद्यार्थीलाई उद्यमसँग जोड्न नसके चाँडैनै विद्यार्थी अभावमा क्याम्पस बन्द हुन सक्ने उनले बताएकाे खबर कान्तिपुरमा प्रकाशित छ ।