नागरिक लगानी काेषकाे कार्यकारी निर्देशकमा पर्वत कार्की नियुक्त

रामकुमार कार्की
काठमाडौं, ३ माघ

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गरेको हो ।

नवनियुक्त कार्की  नेपाल राष्ट्र बैंकको ३० वर्ष काम गरेर कार्यकारी निर्देशक पदबाट अवकाश पाएका अनुभवी व्यवस्थापक हुन् ।  कोषको कार्यकारी निर्देशक पदमा रहेका रमन नेपालको कार्यकाल सकिएसँगै रिक्त रहेको कोषको कार्यकारी निर्देशकमा मन्त्रिपरिषद् बैठकले कार्कीलाई ४ वर्षका लागि नियुक्त गरेको हो ।

पर्वतकुमार कार्कीसहित राष्ट्र बैंकको निर्देशकबाट अवकाश पाएका राजेन्द्र पण्डित, लेखनाथ शर्मा पंगेनी, विश्वमोहन अधिकारी र डा. शिवहरि श्रेष्ठ सर्ट लिस्टमा परेका थिए । जसमध्ये कार्कीसहित राजेन्द्र पण्डित र लेखनाथ शर्मा पंगेनीको नाम नियुक्तिका लागि सिफारिस भएका थिए ।

अन्तिम प्रतिस्पर्धामा रहेका पंगेनी र पण्डितलाई पछि पार्दै कोषमा कार्की नियुक्त भएका हुन् ।