चीनको छलाङः हाइस्पिड रेलको ट्र्याक मात्र ४५ हजार किलोमिटर
सन् २०२३ को अन्त्यसम्ममा चीनमा उच्च–गतिको रेलवे ट्रयाक ४५ हजार किलोमिटर सम्पन्न भएको यहाँको राष्ट्रिय रेल अप्रेटरले जनाएको छ। चाइना स्टेट रेलवे कम्पनी लिमिटेडका अनुसार चीनको रेलवे सञ्जालको सञ्चालनको माइलेज एक लाख ५९ हजार किलोमिटर रहेको छ।
रेल क्षेत्रमा चीनको लगानी १०७.७ बिलियन अमेरिकी डलर पुगेको देखिन्छ, जुन अघिल्लो वर्षको तुलानामा ७.५ प्रतिशतले बढी हो।
सन् २०२३ मा कुल तीन हजार ६ सय ३७ किलोमिटर नयाँ ट्र्याकहरू सञ्चालनमा आएका छन्। जसमा दुई हजार सात सय ७६ किलोमिटर उच्च–गति रेलवेहरू समावेश छन्।
गत वर्ष चीनको रेल पूर्वाधार निर्माणमा ३४ वटा परियोजनाको निर्माण र सञ्चालन, एक सय दुईवटा रेलवे स्टेसनमा सेवाको सुरुवात तथा निर्माणाधीन एक सय १२ वटा परियोजनाको प्रगति समावेश रहेको कम्पनीले जनाएको छ।
नयाँ वर्षको शुरुवातसँगै चीनमा धेरै ठूला यातायात परियोजनाहरूका काम ठूलो गतिमा भइरहेका छन्। उच्च गुणस्तरीय आर्थिक र सामाजिक विकासलाई समर्थन गर्न आधुनिक तथा उच्च गुणस्तरीय राष्ट्रिय व्यापक त्रि-आयामिक यातायात सञ्जालको निर्माणलाई तीव्रता दिइएको छ।
यातायात मन्त्रालयको बृहत् योजना विभागका उपनिर्देशक वु झिहुआले दिएको जानकारीअनुसार यस वर्ष चीनले यातायातमा प्रभावकारी लगानी विस्तार गर्ने, आधुनिक यातायात पूर्वाधार प्रणाली निर्माण गर्ने, व्यापक यातायात प्रणालीको लचिलोपन बढाउने, आर्थिक पुनरुत्थानलाई सुदृढ पार्ने र उत्तम काम जारी राख्ने छ।
चीनको उच्च गुणस्तरीय विकासका लागि यातायातले अग्रणी भूमिका खेलेको विश्लेषकहरू बताउँछन्।