पार्टी भित्र र बाहिर तरंग ल्याउन सफल भएको माओवादी विशेष रूपान्तरण अभियान

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)ले पार्टीको विशेष रूपान्तरण अभियान सोमबारदेखि सकिएको छ । माओवादीले वडास्तरमा जनपरिचालन गर्न चार महिने अभियान चलाएको थियो ।

गत भदौ १६ देखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान ‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु भएको हो।

चार महिनाअघि ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’को घोषणा गर्दै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्येक घर–घर पुग्न निर्देशन दिएका थिए । कुनै पनि दलका कार्यकर्ताको घर नछाड्न उनको निर्देशन थियो ।

नेताहरूले पार्टीको चारमहिने ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्। यसअघि बसेको माओवादी पदाधिकारी बैठकले यो अभियानले पार्टीलाई जनतातर्फ फर्काएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिएका थिए।

उनले भनेका थिए, ‘यो अभियानले पार्टीलाई गतिशील, जीवन्त र चलायमान बनाएको छ । माओवादीलाई फेरि जनतासँग जोडेको छ । त्यसैले यो अभियान सफल भएको निष्कर्षसहित आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने भन्नेछ ।’

उनले अभियानको आगामी १६ गते वृहत् जनपरिचालनसहित पालिकास्तरमा समापन गर्ने निर्णय भएको बताए । अभियानले पार्टी संगठन मजबुत पारेको, नेता कार्यकर्तामा उत्साह भरेको, जनतामा पार्टीप्रति नयाँ आसा र अपेक्षा पलाएको निष्कर्ष नेताहरुको छ।

यो चारमहिने अभियान प्रभावकारी भएको प्रदेशका नेताहरूको अनुभव छ। माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दुईमहिने अभियानभन्दा चारमहिने अभियान प्रभावकारी भएको बताए। उनी भन्छन्, “पार्टीको पछिल्लो अभियान प्रभावकारी भएको छ । यो बिचमा दसैँ, तिहार, छठलगायतका पर्वले अभियान सुस्ताए जस्तो भयो । अब  योजना र कार्यक्रम बनाउँदै छौँ । त्यसमा भेला, प्रशिक्षण बैठक, नयाँ सदस्यता वितरण, नवीकरणका कार्य गर्ने तयारी छ ।” निष्क्रिय रहेका नेताहरू सक्रिय भएको बताउँदै उहाँले गाउँघरमा पुगेर कार्यकर्ता र जनता भेट्न थालेको बताउनुभयो।

माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले योजनाबद्ध रूपमा अभियान सफल भएको बताए। उनले भने, “माओवादीले अभियानलाई विगतको तुलनामा राम्रो बनाएर लगेको छ । यो अभियानले जनतामा सकारात्मक सन्देश गएको छ । जनतामा माओवादी फर्किनु पर्छ भन्ने छ । माओवादीप्रति जनताको आशा पुनर्जागृत भएको पाएका छौँ ।”

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले प्रदेशको अभियान प्रभावकारी रूपमा सफल भएको दाबी गरे। “गण्डकीमा अभियान प्रभावकारी रूपमा सफल भएको छ । माओवादी सङ्गठनलाई बलियो र व्यवस्थित बनाउँदै लगिएको छ । अब छिट्टै वडाका भेला गरिने छ । प्रदेशका ८८ पालिकामा एक पटक वैचारिक प्रशिक्षण चलाउने तयारी छ,” उनले भने।

अभियानको पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, सदस्यता नवीकरण र विस्तार, अभिलेख व्यवस्थापन, उत्पादन र प्रचारसँग सम्बन्धित संयन्त्र तथा योजना निर्माण, विभिन्न तहका पार्टीका कार्यालय व्यवस्थापन, पार्टीभित्रका अन्तर्विरोधको पहिचान र समाधानको पहल, कार्यकर्ता व्यवस्थापनका लागि कोष स्थापना गरिएको थियो।

दोस्रो चरणमा पाँचघन्टे अन्तरपार्टी स्कुल, विषयगत अन्तक्र्रिया, विषयगत तालिम, गोष्ठी, जनप्रशिक्षण, जनभेला, टोलटोलमा युवा भेला, स्थानीयस्तरका सरकारी तथा सामाजिक संघसंस्थासँग अन्तक्र्रिया तथा तेस्रो चरणमा जनप्रदर्शन, जनसंघर्ष, जनसेवासहित जनपरिचालनका कार्यक्रम सञ्चालन गरिएका पार्टीले जनाएको छ।

महासचिव देवप्रसाद गुरुङले पनि पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन्। यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई सशक्त र बलियो बनाउन सफल भएको जनाउँदै उनले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टीबीच एकता भई शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको बताए।

महासचिव गुरुङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको दाबी गरे।

उनले भने, ‘हजारौंको बलिदानपछि प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र सुरु भएको छ, ती सबै षडयन्त्रलाई चिर्न अहिले सबै कम्युनिष्टबीच एकताको विकल्प छैन।’ पार्टी अध्यक्षको नेतृत्वको सरकारले यसपटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु आत्तिएको उनले बताए।