समुदायको पहिचानमा नै देशको समृद्धि निर्भर हुन्छ : प्रधानमन्त्री प्रचण्ड
मूलखबर संवाददाता
काठमाडौं, १५ पुस २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता र समृद्धि निर्भर हुने बताउनुभएको छ।
आइतबार काठमाडौँको टुँडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले राष्ट्रियताको संवर्द्धन र समुदायको पहिचानमा नै देशको एकता, स्वाधीनता, समृद्धि र राष्ट्रिय हित निर्भर रहने बताउनुभएको हो।
प्रधानमन्त्री ‘प्रचण्ड’ले तमु (गुरुङ) समुदायको महत्त्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताउनु भएको छ । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित महोत्सव उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले ल्होसार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग पनि सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिँदै नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको औँल्याउनु भयो ।

उहाँले नेपालका मौलिक चाडपर्वले नेपालीका बिचमा सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता मजबुत बताउने बताउनुभयो। उहाँले देशको विशेषता र मौलिकताले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सौन्दर्यलाई स्थापित गर्नु सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्नुभयो।
प्रधानमन्त्री प्रचण्डले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताउनु भयो ।

उहाँले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरुदण्डका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै नेपालका सबै संस्कृतिको एकीकृत स्वरूप नै नेपालको राष्ट्रिय संस्कृति रहेको औँल्याउनु भयो ।