
गेटामा विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्छ : स्वास्थ्यमन्त्री बस्नेत
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले गेटामा मेडिकल विश्वविद्यालय बन्ने प्रक्रिया अघि बढ्ने बताउनु भएको छ ।
आइतबार गेटा मेडिकल कलेजको स्थलगत निरीक्षण गर्नुहुँदै मन्त्री बस्नेतले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन भएपछि विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । सो अस्पतालमा अहिले १०० शययामा सञ्चालनमा छ ।
उहाँले भन्नुभयो, ‘‘तीन सय अस्पताल सञ्चालनमा आएपछि मात्र मेडिकल शिक्षा अध्ययनको काम सम्भव हुन्छ, हामी गेटामा तीन सय शप्याको अस्पताल सञ्चालन गर्न लागिपरेका छौँ ।’’
अस्पताल सञ्चालनका लागि जनशक्ति व्यवस्थापनको पक्ष चुनौतिपूर्ण देखिएको छ, मन्त्रीले बस्नेतले भन्नुभयो, ‘‘अस्पताल सञ्चालनमा ल्याएपछि बल्ल मेडिकल विश्वविद्यालयको काम अघि बढाउन सकिन्छ ।’’
उहाँले विश्वविद्यालय उन्मुख प्रक्रिया सुरु गर्न सकिएकोमा सन्तुष्ट देखिनु भएको थियो । सुदूरपश्चिम प्रदेशमा चिकित्सक आउन नमान्ने गरेका कारण जनशक्ति व्यवस्थापनको काम चुनौतिपूर्ण रहेको पनि मन्त्री बस्नेको भनाइ थियो ।
उहाँले भन्नुभयो, ‘‘कर्णाली प्रदेशमा अतिरिक्त भत्ता पाउने भएकाले चिकित्सक जान तयार भए पनि सुदूरपश्चिम आउन नमान्ने गरेका कारण तीन सय शय्याको अस्पताल सञ्चालन गर्न कठिनाइ भइरहेको छ ।
‘‘हामीलाई चाहिने जनशक्ति पर्याप्त छैन,’’ मन्त्री बस्नेतले भन्नुभयो, ‘‘गेटामा मेडिकल शिक्षा सञ्चालन भएपछि जनशक्ति उत्पादनमा भूमिका खेल्ने छ ।’’ उहाँले गेटा मेडिकल कलेजमा सञ्चालन गरिएको एक सय शय्याको अस्पतालको समेत अनुगमन गर्नुभयो ।
सो अस्पतालका निर्देशक डा. प्रमोद जोशीले अस्पतालको प्रगति विवरण समेत प्रस्तुत गर्नु भएको थियो । सो कार्यक्रममा प्रदेश सदस्य गीता चौधरी, गोदावरी नगरपालिकाका प्रमुख विरेन्द्र भट्ट, नेपाली कांग्रेस केलालीका सभापति नारायण भट्ट, सचिव केशव मिश्र लगायतको उपस्थिति थियो ।
