सन् २०२३ मा विश्वभर हेडलाइन बनेका १० तस्विर, नेपालका घटना पनि चर्चामा

मूलखबर संवाददाता
काठमाडौं

सन् २०२३ विदा हुँदै छ। यो वर्ष विश्वका विभिन्न स्थानमा विभिन्न घटना विश्वभर हेडलाइन बने। नेपालका केही घटना पनि विश्वभर समाचार भए। सन् २०२३ झल्काउने १० तस्बिर यहाँ प्रस्तुत गरिएको छ।

फ्रान्समा सेवानिवृत्त हुने र निवृत्तिभरण पाउने उमेर ६२ बाट ६४ बनाउने योजनाको विरोधमा १० लाखभन्दा बढी मानिसले प्रदर्शन गरे। प्यारिसमा मात्रै ८०,००० प्रदर्शनकारी सडकमा देखा परेका थिए।

वर्षाका कारण ब्रजिलको साओ पाउलोमा पहिरो जाँदा ४० जनाभन्दा बढी मानिसको ज्यान गयो भने ७५० जनाभन्दा बढीको घरबार गुम्यो।
मुम्बईस्थित एउटा सुकुम्बासी बस्तीमा आगो लाग्दा १,००० वटाभन्दा बढी घरहरू जलेर नष्ट भए।
एल साल्भाडोरमा आयोजित मिस यूनिभर्स २०२३ मा सहभागी हुँदै नेपालकी जेन दीपिका ग्यारेट। यो वर्ष मिस नेपाल बनेकी ग्यारेट ‘प्लस साइज’ मोडल पनि हुन्।

 

मेक्सिको र अमेरिकाको सीमामा छेकबार भएको ठाउँमा खानेकुरा पाउने आशामा पुगेका आप्रवासीहरू। मेक्सिकोको बाटो हुँदै प्रत्येक वर्ष ठूलो सङ्ख्यामा विदेशी आप्रवासीहरूले अमेरिका छिर्ने प्रयास गर्ने गरेका छन्।
हमास लडाकु समूहले आफ्ना छोराछोरी बन्धक बनाएर लगेपछि आफ्नी आमाको जलेको घरमा रुँदै हाडास काल्डेरोन। हमासको आक्रमणमा उनकी आमा रिना सुट्ज्केभर र अर्की एक नातेदारको पनि ज्यान गएको थियो। अक्टोबर ७ मा हमासले इजरेलमा अप्रत्याशित आक्रमण गर्दा १,२०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने २४० जनाजतिलाई बन्धक बनाएर लगिएको थियो।
गाजा स्ट्रिपबाट प्रहार गरिएका रकेटहरूलाई निस्तेज बनाउँदै इजरेलको क्षेप्यास्त्र प्रतिरोधक आइरन डोम प्रणाली ।
प्यालेस्टिनी महिला इनस अबु मामर इजरेली हवाई आक्रमणमा ज्यान गुमाएकी आफ्नी पाँचवर्षे आफन्त सलीको शवलाई अङ्कमाल गर्दै। इजरेलले गाजा स्ट्रिपमा प्रत्याक्रमण गरेपछि २१,००० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको हमासले जनाएको छ।
लमजुङको दोर्दी गाउँपालिकामा आफ्नो विवाह दर्ता भएपछि त्यसको प्रमाणपत्र देखाउँदै समलिङ्गी जोडी माया गुरुङ र सुरेन्द्र पाण्डे। नेपालमा पहिलो पटक समलिङ्गीहरूको विवाह दर्ता भएको हो।
पश्चिम नेपालको जाजरकोट जिल्लास्थित चिउरी गाउँमा शक्तिशाली भूकम्पका कारण मृत्यु भएका एक व्यक्तिको शवयात्रामा उनका परिवारजन र गाउँलेहरू। उक्त भूकम्पमा परी जाजरकोट र पश्चिम रुकुममा गरी १५४ जनाको मृत्यु भएको थियो।