
नाकको डाँडी भाँच्ने नीति भएका रविलाई मकैको खोया, को हुन् आक्रमणकारी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अहिले राजनीतिमा छन्। तर उनी कुनैबेला पत्रकार थिए।
रविले न्यूज २४ टेलिभिजनमा चलाउन थालेको ‘सीधा कुरा जनतासँग’ ले छोटो समयमै उनलाई यसरी पत्याउनेको ठूलो जमात् खडा गरिदियो, त्यसैलाई रविले राजनीतिक मसला बनाए र ७९ सालको चुनावमा राम्रो नतिजा हात पारे।
‘सीधा कुरा’ को अधिकांश भागको ‘मोनोलग’मा रवि नेताकै आलोचना गरिरहेका हुन्थे। नेपाली समाजलाई सबैभन्दा छुने वैदेशिक रोजगारीको ठगी, विमानस्थल अध्यागमनको बेथिति अनि भ्रष्टाचारका विषयमा उनी आक्रामक भएर लागे। लाइभ अन्तर्वार्तामै सरोकारवालाको झाँको झार्नेदेखि अलपत्र परेकाहरूको उद्धारसम्मका घटनाले उनलाई चर्चित बनायो।
त्यतिमात्र होइन उनले टुँडीखेलमा नाकको डाँडी भाच्ने भन्दै दिने गरेको अभिव्यक्ति पनि चर्चामा थियो।
तर राजनीतिमा आइसकेपछि उनैले आफैंले टिभिबाट सिकाएको व्यहार भोगेका छन्। शनिबार पोखरा अमरसिंह चोकमा आयोजित सभामा सम्बोधन गर्ने क्रममा शनिबार लामिछानेमाथि लमजुङ घर भई पोखरा बस्दै आएका सन्तोष रानाभाटले खोया प्रहार गरे। उनले प्रहार गरेको खोया मन्चमा पुगेको थियो ।
रानाभाटलाई वडा प्रहरी कार्यालय रामबजारको प्रहरी टोलीले पक्राउ गरेको छ । कार्यालयका इन्स्पेक्टर विनोद श्रेष्ठका अनुसार रानाभाटलाई पक्राउ गरिएको र थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सभापति लामिछानेले सहकारीको कुरा गरेपछि आक्रोशित बनेका रानाभाटले खोया प्रहार गरेका थिए । उनी सूर्यदर्शन सहकारीका बचतकर्ता हुन् ।
सूर्यदर्शन सहकारीका सञ्चालक जितेन्द्र (जेबी) राई हुन् । सो सहकारीका बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेपछि राई फरार छन् । राईले उक्त सहकारीबाट ऋण लिएर ग्यालेक्सी फोर के टेलिभिजन खोलेको र ग्यालेक्सीमा उक्त सहकारीबाट लामिछानेले समेत ऋण लिएर संस्थापक सेयर लगानी गरेको फेला परेको थियो ।
