
चिसो बढ्यो, सतर्क रहन मौसम विभागको अपील
देशभरको तापक्रम घट्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । तापक्रम घट्दै जाँदा चिसो बढ्ने क्रममा रहेकाले यसबाट बच्न सतर्क रहन विभागले आग्रह गरेको छ ।
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । काठमाडौंमा आज बिहान ५ः४५ बजे ५.६ डिग्री सेल्सियस तापक्रम रहेको छ । मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसो काठमाडौंको तापक्रम १७ देखि १९ डिग्री सेल्सियसम्म रहनेछ ।
“काठमाडौंमा आज दिउँसो आंशिक बदली हुनेछ । मौसमी प्रणालीमा उल्लेख्य परिवर्तन नभएका कारण आज वर्षाको सम्भावना छैन,” उनले भने, “तराईका केही भू–भागमा हुस्सु र कुहिरो लागेको छ । तर घाम लागेपछि हट्नेछ ।”
दिउँसो देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
