अमेरिकी राजनीतिमा तरंग, ट्रम्प चुनाव लड्न अयोग्य रहेको अदालतको फैसला

मूलखबर संवाददाता
काठमाडौं

अमेरिकाको अदालतले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले अब चुनाव लड्न नपाउने फैसला सुनाएको छ। उनी पदमा रहन अयोग्य रहेको ठहर गर्दै कोलोराडोको सर्वोच्च अदालतले उनलाई २०२४ को चुनावी दौडबाट बाहिर पुर्‍याइदिएको हो।

यसअघि उनी वर्तमान राष्ट्रपति जो बाइडेनविरुद्ध उम्मेद्वारी दिने तयारीमा थिए।

ट्रम्पले आफूमाथि लगाइएका ३४ वटा गम्भीर अपराध अभियोगमा आफू दोषी नभएको जिकिर गरेका थिए। यसअघि न्यूयोर्कको एक अदालतमा उपस्थित भएर उनले आफूमाथि लागेका अपराधका आरोपहरू आफूलाई पुनः राष्ट्रपति बन्न नदिने विपक्षीको रणनीति भएको बताए ।

सन् २०१६ को घटनामा ट्रम्पविरुद्ध ३४ वटा फेलनी अर्थात् गम्भीर अपराधका अभियोगहरू लगाइएको थियो । यी सबै मुद्दा पोर्नस्टार स्टोर्मी डेनियल्सलाई तिरेको भनिएको १ लाख ३० हजार अमेरिकी डलरसँग सम्बन्धित छन् ।

अमेरिकामा फौजदारी अपराधको मुद्दा खेप्ने ट्रम्प पहिलो पूर्वराष्ट्रपति हुन् । सन् २०१६ मा जब ट्रम्पले रिपब्लिकन पार्टीबाट राष्ट्रपतिको चुनावका लागि टिकट पाउँदै थिए, तब स्टोर्मी डेनियल्सले सञ्चारमाध्यमहरूसँग आफू र ट्रम्पबीच सन् २००६ मा अफेयर भएको र आफूहरूबीच कैयौँपटक शारीरिक सम्बन्ध भएको बताएकी थिइन् ।

त्यसबेला ट्रम्पले हालकी पत्नी मलेनियासँग विवाह गरिसकेका थिए । राष्ट्रपति निर्वाचनको अभियानमा धक्का पुग्ने भन्दै त्यसबेला ट्रम्पले आफ्ना वकिल माइकल कोहेनमार्फत ड्यानियल्सलाई अवैध सम्बन्धका बारेमा नबोल्न भन्दै १ लाख ३० हजार डलर दिएको आरोप छ ।

अभियोजनकर्ताहरूले पैसा दिएको विषयलाई गैरकानुनी र अवैध भनेका छैनन् । तर, ट्रम्पले वकिललाई पैसा तिर्दा भने कानुनी शुल्क तिरेको भनेका छन्, जसको अभिलेख पनि राखिएको पाइएको छ । अभियोजकहरूले पोर्नस्टारलाई तिरेको पैसालाई कानुनी शुल्कको रूपमा अभिलेख राख्नुलाई फौजदारी अपराध भनेका छन् । ट्रम्पले व्यापारिक अभिलेखलाई झुटो साबित गरेको अनुसन्धानकर्ताको तर्क छ ।