
मौसमः अझै दुई/तीन दिन पश्चिमी वायु कमजोर रहने
पश्चिमी वायुको आंशिक प्रभाव रहँदा आज बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ ।
काठमाडौंमा आज बिहान ५ः४५ बजेको तापक्रम ५.७ डिग्री सेल्सियस मापन गरिएको छ । दिउँसो १७ देखि १९ डिग्री सेल्सियसको बीचमा रहने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
विभागले राति कोसी कोसी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहनेछ ।
चिसो भने केही दिनयता बढ्दै गएको छ । हिजो बिहान काठमाडौंमा ५ः४५ बजे ५.८ डिग्री सेल्सियस तापक्रम थियो । आज सोही समयमा एक पोइन्ट घटेर ५.७ मा झरेको छ । हिजो बिहान ८ः४५ बजेको काठमाडौंको तापक्रम ५.७ डिग्री सेल्सियस मापन भएको थियो ।
हिमपात हुने जुम्लालगायत केही हिमाली जिल्लामा भने अघिल्लो सातादेखि नै तापक्रम माइनसमा मापन भइसकेको छ । त्यसैले चिसोबाट हुनसक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । तराईका जिल्लामा बिहान हुस्सु र कुहिरो लाग्ने गरेको छ ।
