नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक छ : प्रधानमन्त्री
काठमाडौँ, २७ मंसिर २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको खबर चिन्ताजनक भएको बताउनु भएको छ । रुसी सेनामा भर्ना भएका नेपाली युवाहरूलाई सकुशल फिर्ता गर्न सरकारले हर सम्भव प्रयास गरिरहेको बताउनु भयो । बुधवार काभ्रेको धुलिखेलमा काठमाडौँ विश्वविद्यालयको २९ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भयो ।
‘अहिले विभिन्न बाध्यताका कारण २०० भन्दा बढी नेपाली युवाहरू रुसी सेनामा भर्ना भएको जुन खबर आएको छ, त्यो चिन्ताजनक छ र सरकार तिनलाई सकुशल फिर्ता ल्याउन हर सम्भव प्रयास गरिरहेको छ’, प्रधानमन्त्रीले भननुभयो । उहाँले नेपालमा अवसर छैन भन्ने भाष्य निर्माणको परिणाम स्वरूप नेपाली युवा विदेशमा अनेक हन्डर खान बाध्य भएको बताउनु भयो ।
‘म उनीहरूलाई यही मञ्चबाट आश्वस्त पार्न चाहन्छु, अहिले नेपालमै प्रशस्त शिक्षा तथा रोजगारीका अवसर छन् र तिनको उचित व्यवस्थापन गर्न सके व्यक्तिगत जीवनको मात्र नभएर देश हितको पनि काम गर्न सकिन्छ’, प्रधानमन्त्रीले नेपालमै अवसर रहेको र स्वदेशमै काम गर्न सकिने बताउनु भयो ।