५ डिग्री सेल्सियसमा झर्यो काठमाडौंको तापक्रम, यस्तो रहने छ आजको मौसम
काठमाडौं उपत्यकामा आज यो वर्षसम्मै न्यून तापक्रम मापन गरिएको छ । बिहान ५ः४५ बजे काठमाडौंमा ५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
“५.८ डिग्री सेल्सियस तापक्रम काठमाडौंमा यो वर्षको आजसम्मको न्यून तापक्रम हो,” मौसमविद् सरोज पुडासैनीले बाह्रखरीसँग भने ।
देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईमा हुस्सु र कुहिरोको लागिरहेको छ ।
देशका पहाडी भू–भागमा आज आंशिकदेखि सामान्य बदली रहने छ । बाँकी भू–भागको मौसम भने सामान्यतया सफा रहने छ । तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा दिउँसो हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।
कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।