कोप–२८ को समापनः अर्को सम्मेलन अजरबैजानमा, गुटेरसको ध्यान- जलवायु न्याय

मूलखबर संवाददाता
काठमाडौं

कोप–२८ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघको फ्रेमवर्क कन्भेन्सनका पक्षहरूको सम्मेलनको २८औँ बैठक आज मंगलबार समापन हुँदै छ।

सम्मेलन समापनअघि कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत भएको छ। कोप–२८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले कोप–२९ अजरबैजानमा गर्ने प्रस्ताव स्वीकृत गरेका छन् ।

दक्षिण काकेसस राष्ट्रले अन्य पूर्वी युरोपेली देशहरूको समर्थन जितेर अजरबैजानमा गर्ने स्वीकृति पाएको हो ।

जलवायु न्यायलाई बिर्सन हुँदैन- गुटेरस

राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसले विश्व जलवायु सम्मेलनले जलवायु न्यायलाई बिर्सन नहुने बताएका छन् ।

कोप–२८ सकिनुअघि सोमबार सम्मेलनस्थलमा पत्रकार सम्मेलन गर्दे उनले जलवायु न्यायलाई उच्च प्राथमिकतामा राखिनुपर्ने बताए ।

सम्मेलनले आफ्ना यसअघिका निर्णय कार्यान्वयनको समीक्षा र आगामी कार्यदिशा निर्धारण गर्दा जलवायु विज्ञान, विकासोन्मुख र अल्पविकसित मुलुकको आवश्यकताको विषयलाई ध्यान दिनुपर्ने बताए ।

गुटेरेसले भने, “जलवायुको विज्ञानसँग सम्झौता नगरिकन, विकासोन्मुख र अल्पविकसित देशहरूको आवश्यकतासँग सम्झौता नगरिकन हामी सबैले काम गर्नुपर्ने आवश्यकता छ ।”

उनले प्रत्येक देशले एनडीसीमार्फत गरेको जलवायु अनुकूलनको प्रतिवद्धतालाई समय सीमा तोकी इमान्दारितापूर्वक कार्यान्वयन गर्नुपर्नेमा पनि जोड दिए । हरित गृह ग्यासको उत्सर्जनलाई घटाउने, जैविक उर्जाको प्रयोगलाई समयसीमा तोकी घटाउने र जलवायु न्यायलाई मध्यनजर गर्दै प्रत्येक देशले योजना बनाई काम गर्नुपर्ने कुरामा जोड उनले जोड दिए ।

‘जैविक उर्जाको खपत हटाउने कार्यमा यो सम्मेलन सफल भएन भने के यसलाई हामी असफल भन्न मिल्छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव गेटेरेसले जैविक उर्जा खपत एकै पटक हटाउन नसकिने टिप्पणी गरे ।

उनले भने, “एकैपटक सबैले बन्द गर्ने पनि होइन । यसलाई प्रत्येक देशले विस्तारै कम गर्दै लैजाने भन्ने हो । सीमा तोकेर कम गर्दै लग्यो भने लक्ष्य हासिल हुन्छ । तर सबैले एकैपटक बन्द गर भन्ने होइन । जैविक उर्जाको खपत कम गर्नु भनेको रोजगारी वृद्धि गर्नु पनि हो । यो समय भनेको सम्झौता गर्ने समय हो । यहाँ हामीले सबै विषयमा विजयको अपेक्षा राख्नुहुँदैन ।”

उनले सम्मेलनमा जैविक उर्जाको खपत हटाउने सम्बन्धमा स्पष्ट दुई ध्रुवमा बाँडिएका मुलुकहरुलाई सामूहिक रूपमा आफ्नो प्रतिवद्धताप्रति इमान्दार रही निर्णय गर्न सुझाव दिए ।