रूपान्तरण अभियानको सकारात्मक सञ्चार, माओवादीमा नयाँ आशा र उत्साह

मूलखबर संवाददाता
काठमाडौं

नेकपा (माओवादी केन्द्र)का नेताहरूले पार्टीको चारमहिने ‘जनतासँग माओवादी, विशेष रूपान्तरण अभियान’ कार्यक्रमले नेता कार्यकर्ता र जनतामा जाँगर र उत्साह भरेको निष्कर्ष निकालेका छन्।

अभियानले पार्टी संगठन मजबुत पारेको, नेता कार्यकर्तामा उत्साह भरेको, जनतामा पार्टीप्रति नयाँ आसा र अपेक्षा पलाएको निष्कर्ष उनीहरुको छ।

गत भदौ १६ देखि सुरु भएको जनतासँग माओवादी विशेष रूपान्तरण अभियान ‘जन जनमा माओवादी, घर घरमा माओवादी’ भन्ने मूल नाराका साथ सुरु भएको हो। पार्टीका नेताहरूले बैठक, भेला, प्रशिक्षण, सङ्गठन पुनर्गठन, प्रशिक्षण, सदस्यता नवीकरण, नयाँ सदस्यता वितरणलगायतका काम पुस १५ गतेसम्म सकिने प्रतिबद्धता जनाएका छन् ।

यो चारमहिने अभियान प्रभावकारी भइरहेको प्रदेशका नेताहरूको अनुभव छ। माओवादी केन्द्रका कोशी प्रदेश अध्यक्ष हर्कबहादुर नेम्वाङले दुईमहिने अभियानभन्दा चारमहिने अभियान प्रभावकारी भएको बताए। उनी भन्छन्, “पार्टीको पछिल्लो अभियान प्रभावकारी बन्दै गएको छ । यो बिचमा दसैँ, तिहार, छठलगायतका पर्वले अभियान सुस्ताए जस्तो भयो । अब एक महिनामा अभियान प्रभावकारी बनाउन योजना र कार्यक्रम बनाउँदै छौँ । त्यसमा भेला, प्रशिक्षण बैठक, नयाँ सदस्यता वितरण, नवीकरणका कार्य गर्ने तयारी छ ।” निष्क्रिय रहेका नेताहरू सक्रिय भएको बताउँदै उहाँले गाउँघरमा पुगेर कार्यकर्ता र जनता भेट्न थालेको बताउनुभयो।

माओवादी केन्द्रका बागमती प्रदेश सचिव इन्द्रबहादुर थिङले योजनाबद्ध रूपमा अभियान जारी राखेको बताए। उनले भने, “माओवादीले अभियानलाई विगतको तुलनामा राम्रो बनाएर लगेको छ । यो अभियानले जनतामा सकारात्मक सन्देश गएको छ । जनतामा माओवादी फर्किनु पर्छ भन्ने छ । माओवादीप्रति जनताको आशा पुनर्जागृत भएको पाएका छौँ ।”

माओवादी केन्द्रका सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले प्रदेशको अभियान प्रभावकारी रूपमा भइरहेको दाबी गरे। “गण्डकीमा अभियान प्रभावकारी रूपमा अगाडि बढेको छ । माओवादी सङ्गठनलाई बलियो र व्यवस्थित बनाउँदै लगिएको छ । अब एक चरण वडाका भेला गरिने छ । प्रदेशका ८८ पालिकामा एक पटक वैचारिक प्रशिक्षण चलाउने तयारी छ,” उनले भने।

महासचिव देवप्रसाद गुरुङले पनि पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी रुपान्तरण अभियानले जनतामा नयाँ आशा र उत्साह सञ्चार गरेको बताएका छन्।

रुपान्तरण अभियानअन्तर्गत सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाका भ्रमणमा गएका महासचिव गुरुङले काठमाडौं फर्किनुअघि माओवादी केन्द्र बाँकेले यहाँ आयोजना गरेको कार्यक्रममा जनतासँग माओवादी रुपान्तरण अभियानले जनतालाई पार्टीसँग प्रत्यक्ष जोड्न सफल भएको बताए।

यो अभियानले पूर्वदेखि पश्चिमसम्म माओवादी पार्टीलाई सशक्त र बलियो बनाउन सफल भएको जनाउँदै उनले अधिकांश जनता र कार्यकर्ताको माग कम्युनिष्ट पार्टीबीच एकता भई शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माण गर्नुपर्ने रहेको बताए।

महासचिव गुरुङले प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नेतृत्वमा शक्तिशाली कम्युनिष्ट केन्द्र निर्माणको अभियान अगाडि बढिसकेको दाबी गरे।

उनले भने, ‘हजारौंको बलिदानपछि प्राप्त गणतन्त्रविरुद्ध षडयन्त्र सुरु भएको छ, ती सबै षडयन्त्रलाई चिर्न अहिले सबै कम्युनिष्टबीच एकताको विकल्प छैन।’ पार्टी अध्यक्षको नेतृत्वको सरकारले यसपटक गरेका धेरै राम्रा कामबाट प्रतिगामीहरु आत्तिएको उनले बताए।