चलचित्र ‘दुई कदम’को ट्रेलर सार्वजनिक (भिडिओ)

मूलखबर संवाददाता
काठमाडौं

काठमाडौं, २० मंसिर २०८०
उदय सुब्बाद्धारा निर्देशित फिल्म ‘दुई कदम’को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट ३ सेकेण्ड लामो ट्रेलरमा एक जोडीको प्रेममा आउने उतार–चढाव र लिम्बु संस्कारलाई प्रस्तुत गरिएको छ ।
फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ ।

फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बुको लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो ।

फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।