
कवाडी गोदाम आगलागीमा मृत्यु हुनेको संख्या २ पुग्यो
विराटनगर, २० मंसिर २०८०
विराटनगरमा कवाडी गोदाममा आगलागी हुँदा मृत्यु हुनेको संख्या दुई पुगेको छ । विराटनगर महानगरपालिका–७ सातघुम्तीमा कर्कटपाताको छानो भएको कवाडी गोदाममा बुधबार दिउँसो आगलागी हुँदा ५ जना घाइते भएका थिए । जसमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
बुधबार दिउँसो २ः१५ बजेतिर कवाडी गोदाममा आगलागी सुरु भएको थियो । आगलागीमा परेर घाइते भएका एक जनाको उपचारका क्रममा विराटनगर न्युरो अस्पतालमा मृत्यु भएको हो । मृत्युहुनेको पहिचान खुल्न सकेको छैन ।
त्यस्तै विराटनगर–६ का दीपक मण्डलको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक र घाइते कवाडी गोदामकै कामदार हुन् । आगलागीको कारण खुल्न नसकेको मोरङ प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रञ्जन दाहालले बताएका छन् ।
