वर्षकै सबैभन्दा शक्तिशाली र लोकप्रिय बन्यो युवाहरूले रोमान्स व्यक्त गर्ने शब्द

मूलखबर संवाददाता
काठमाडौं

के तपाईँ आफ्ना सम्भावित पार्टनरसँग गफिन वा जिस्किन माहिर हुनुहुन्छ? हो भने तपाईँसँग अहिले नै ‘रिज’ हुन सक्छ, त्यो के हो भन्ने थाहा नपाईकनै।

द अक्सफर्ड वर्ड अफ द यिअर अर्थात् अक्सफर्ड शब्दकोशले वर्ष शब्द बनाएको यो शब्द (rizz) ‘रोमान्टिक अपील’ वा आकर्षणका लागि खासगरी युवाहरूले प्रयोग गर्ने शब्द हो।

योसहित आठवटा शब्द शर्टलिस्टमा परेका परेका थिए। ती सबै शब्दले सन् २०२३ को मनोदशा, लोकव्यवहार वा चिन्ता प्रतिविम्बित गर्छन्।

ती सबै शब्दलाई सार्वजनिक मतदानमा लगिएको थियो र अक्सफर्डका कोशकारहरूले अन्तिम निर्णय लिएका थिए।

अरू शब्दमा ‘स्विफ्टी’ (swiftie), ‘बीज फ्ल्याग’ (beige flat) र ‘सिचूएन्शिप’ (situationship) पनि थिए।

रिज के हो? के तपाईँसँग रिज छ?
यदि तपाईँ ‘जेनरेशन जेड’ होइन तपाईँलाई यो शब्दको प्रयोग र अर्थ थाहा नहुन पनि सक्छ। (सन् १९९६ देखि २०१० सम्म जन्मिएका मानिसको पुस्तालाई जेनरेशन जेड भनिन्छ।)

रिज शब्द अनलाइनमा व्यापक प्रयोग भएको पाइन्छ। टिकटकमा #rizz अर्बौँ पटक हेरिएको छ।

अक्सफर्ड अङ्ग्रेजी शब्दकोश प्रकाशन गर्ने अक्सफर्ड यूनिभर्सिटी प्रेसका अनुसार यसलाई शैली, आकर्षण वा आकर्षक या रोमान्टिक वा यौनसाथीलाई आकर्षण गर्न सक्ने क्षमता भएको भनेर परिभाषित गरिएको छ।

रिजको व्युत्पत्ति केलाउँदा यो शब्द “charisma” को छोट्याइएको रूप भएको ठानिएको छ।

यसलाई क्रियापदका रूपमा पनि प्रयोग गर्न सकिन्छ। जस्तै, “टु रिज अप” को अर्थ कसैलाई आकर्षित गर्नु, यौनिक रूपमा आकर्षित गर्नु या कसैसँग कुराकानी गर्नु भन्ने हुन्छ।

वास्तवमा यो शब्द “गेम”को एउटा नयाँ संस्करण हो। यसलाई कौशल र कसैलाई आफूसँग रहेको आकर्षण उपयोग गरेर यौनिक रूपमा आकर्षित गर्ने क्षमताका रूपमा परिभाषित गरिएको छ।

यूट्यूबर तथा ट्विच स्ट्रीमर काइ सेनटलाई यो शब्द लोकप्रिय बनाएको श्रेय दिने गरिन्छ। उनले आफ्ना मित्रहरूमाझ यो शब्द प्रयोग गर्दै आएका थिए।

यो वर्ष यस शब्दको प्रयोग लगातार बढ्दै गयो। गत जुन महिनामा अभिनेता टम हल्यान्डलाई बजफीडले उनको ‘रिज’को रहस्यबारे प्रश्न सोधेको थियो।

हल्यान्डको जबाफ थियो: “मसँग कुनै पनि प्रकारको रिज छैन। मसँग सीमित रिज छ।” त्यसपछि उनले “लङ गेम” खेलेर कसरी आफ्नी प्रेमिका जेन्डायाको मन जितेका थिए भन्ने वर्णन गरेका थिए।

गत वर्षको अक्सफर्ड वर्ष शब्द “गब्लिन मोड” थियो। उक्त शब्दले “निर्लज्ज हुने गरी आत्मासक्त, आलसी, सुस्त , असावधान वा लोभी” व्यवहारलाई वर्णन गर्छ।

शब्दभण्डारमा इन्टरनेटको योगदान
अक्सफर्ड ल्याङ्विजिजका अध्यक्ष क्यास्पर ग्र्याथ्वलले भने, “गोब्लिन मोड महामारीपछि कैयौँका लागि मिल्ने शब्द बनेको थियो र “हिले त्यसको विपरीत शब्द रिज सबभन्दा अगाडि आउनु रोचक हो।”

उनका अनुसार सम्भवतः “यसले सन् २०२३ को प्रचलित मनोदशा देखाउँछ जहाँ हामी चुनौतीपूर्ण केही वर्षपछि एकअर्कासँग खुलिरहेका छौँ। अनि हामी जे हौँ त्यसमा आत्मविश्वास पाइरहेका छौँ।”

रिज शब्दको प्रयोगमा वृद्धि हुनुले इन्टरनेट संस्कृतिबाट आएका शब्द वा वाक्यांश दैनिक बोलीचालीको भाषा बन्दै गइरहेको सङ्केत भएको उनको भनाइ छ।

आठवटा शब्दको चयन अक्सफर्ड यूनिभर्सिटी प्रेसका भाषा विज्ञहरूले गरेका थिए। त्यो सूचीलाई नोभेम्बरको अन्त्यतिर सार्वजनिक मतदानमा लगिएको थियो।

यसपछि चार शब्द अन्तिम चरणमा पुगेका थिए र विज्ञहरूले रिज चयन गरेका हुन्।

नोभेम्बरमा कलिन्स डिक्शनरी निर्माताहरूले सन् २०२३ को शब्द “आर्टिफिशल इन्टेलिजन्स”लाई बनाएका थिए।

बीबीसीबाट साभार