मनै लोभ्याउने रामारोशन (फोटो फिचर)

मूलखबर संवाददाता
काठमाडौं

अछाम जिल्लाको प्राकृतिक सौन्दर्यका लागि चिनिएको क्षेत्र हो रामारोशन । यो ठाउँलाई खोल्सा र तालहरूले अझ रमणीय बनाएको छ। हरिया वन र तरेली परेका पहाडहरुले त झन् मनै लोभ्याउने।

१२ बन्ड १८ खण्डले परिचित रामारोशनलाई हरेक विदेशीले सुन्दर स्थानका रूपमा चर्चा गर्ने गरेका छन् । समुद्री सतहबाट दुई हजारदेखि चार हजार मिटरसम्मको उचाइमा छ । घनघोर हरियाली जङ्गल, सम्म परेका हरिया पाटन र गुफा साँच्चिकै रोचक र हेर्न लायक छन् ।

त्यस्तै एक घण्टा पहाड चढ्नेबित्तिकै देखिने डाँफे चरीको ताँती, घोरल, झारल, थार, बाघ, भालु, बँदेल, रतुवा, कालिज जस्ता जनावर र चराचुरुङ्गीको आकर्षणको केन्द्र रामारोशनको अर्को विशेषता हो । जति हेरे पनि हेरौँ जस्तै लाग्ने मनोरम रोशन मैदान र किनिमिन्नीको विशाल मैदान, फलफूलहरू दाख तथा ताराचुक मुख्य आकर्षण हुन् ।

देउला, धुपी, लौठदेखि हरियो वनजङ्गल पनि उत्तिकै आकर्षक छन् । कैलाश खोलाको उद्गमस्थान रामारोशनमा बागफाल, चिन्डेनी र गोरेकोटको डाँडाबाट उम्रिएको कैलाश खोला रामारोशनका खोला खोल्सा हुँदै दुई भागमा विभाजन भएर बग्ने गरेको पाइन्छ । मैदानको ४० प्रतिशत भूगोल दलदलले भरिएको छ ।

मानव जातिलाई हिँडडुल गर्न समस्या हुन्छ । २० प्रतिशत भूगोल जङ्गलले भरिएको छ । चाखाडाँडा सबैभन्दा उच्च ठाउँमा अवस्थित छ ।

रामारोशनको चुचुरोबाट तराईका चिसापानी, नेपालगन्ज, महेन्द्रनगरमा बलेको बत्ती देखिने गरेको स्थानीयवासी बताउँछन् ।

तस्विर सौजन्य- चन्द्रा बुढाको फेसबुकबाट