संघीयताको सुन्दर र व्यवहारिक अभ्यास भूकम्पको बेला भयोः मन्त्री शर्मा
काठमाडौँ, १७ मंसिर २०८०
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले भूकम्पका बेला संघीयताको व्यवहारिक र सुन्दर अभ्यास देखिएको बताउनुभएको छ । २०७२ सालको भूकम्पलाई स्मरण गर्दै मन्त्री शर्माले अहिले स्थानीय तह नभएको भए जाजरकोट र रुकुम पश्चिममा अझ धेरै क्षति हुने धारणा राख्नुभयो । भूकम्प प्रभावितको अवस्था बुझ्न रुकुम पश्चिम पुगेकी मन्त्री शर्माले स्थानीय तत्कालै उद्धार, राहतमा खटिएकोले थप क्षति हुन नपाएको बताउनुभयो । अब सोही रफ्तारमा अस्थायी आवास निर्माण र पुनर्निर्माणमा लाग्नुपर्ने उहाँको भनाई छ ।
मन्त्री शर्माले सुरक्षित र नमुना बस्ती विकासका लागि सुनौलो अवसर प्राप्त भएको बताउनुभयो । ‘भूकम्पले गर्दा हजारौँ घरहरू भत्किएका छन्, धेरैले ज्यान गुमाउनु प¥यो, करोडौँको क्षति भएको छ, उहाँले भन्नुभयो–तर हाम्रा बिचमा सुरक्षित र नमुना बस्ती विकासका लागि सुनौलो अवसर छ, यसलाई जसरी पनि सदुपयोग गर्नुपर्छ ।’
सरकार जतिसक्दो छिटो भूकम्प प्रभावितलाई टहरामा ल्याउने गरी गम्भीर भएर लागेको उहाँले बताउनुभयो । ‘सरकार भूकम्प प्रभावितका समस्यामा गम्भीर छ, बजेट, कानुन वा अन्य कुनै पनि कुरामा सरकारले ढिलाइ गर्ने छैन, प्रभावित क्षेत्रमा फटाफट काम गर्नुहोस्, उहाँले भन्नुभयो–चिसो बढ्दै छ, लामो समय पालमै बस्नुपर्ने अवस्था भए भूकम्पले गरेको भन्दा थप मानवीय क्षति हुनसक्छ, म प्रशासन, स्थानीय तह, सुरक्षा निकाय सबैलाई भन्छु छिटो टहरा निर्माण सकाउनुहोस् ।’
सरकारले तत्काल अस्थायी आवास निर्माणका लागि सुरक्षाकर्मी परिचालन गर्ने निर्णय गरेको जानकारी गराउँदै सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री शर्माले थप जनशक्ति आवश्यक परेको खण्डमा पनि माग गर्न आग्रह गर्नुभयो । मिति तोकेर अस्थायी आवास निर्माणमा लाग्न उहाँको अनुरोध छ । व्यवस्था परिवर्तनमा यहाँका नागरिकले सबैभन्दा धेरै योगदान गरेकोले फेरिएको व्यवस्थाले यहाँकै नागरिकलाई बढी न्याय गर्नुपर्ने उहाँको भनाई छ ।