नेपालमा पहिलोपटक समलिङ्गी विवाहलाई सरकारी मान्यता ।

मूलखबर संवाददाता
काठमाडौं

काठमाण्डौं, मङ्सिर १४
नेपालमा पहिलोपटक समलिङ्गी विवाहले सरकारी मान्यता प्राप्त गरेको छ । लमजुङको दोर्दीमा पहिलोपटक समलिङ्गी विवाहको दर्ता गरिएको हो । दोर्दी २ मा विवाह दर्ता गरिएको गाउँपालिकाले जनाएको छ । राष्ट्रिय पञ्जीकरण विभागको निर्देशनअनुसार विवाह दर्ता गरिएको पालिकाका सूचना अधिकारी भीमप्रसाद लामिछानेले जानकारी दिए ।

उनीहरुले २०७४ सालमा सामाजिक परम्पराअनुसार नै विवाह गरेका थिए । ‘विवाह गरेपछि विवाह दर्ताका लागि प्रकृया अगाडी बढाउन खोजिएको थियो । समलिङ्गी विवाह दर्ताको कानुन छैन भनेर फर्किए ‘पछि मन्त्रालय, विभागमा पुगेर विभागको पत्र पाएपछि विवाह दर्ता भएको हो । सर्वोच्च अदालतले पनि समलिङ्गी विवाह दर्तामा अवरोध नगर्न आदेश दिएको थियो ।

दोर्दी गाउँपालिका वडा नम्बर २ का रामबहादुर गुरुङ (माया) र नवलपुरको कावासोती नगरपालिका ८ का सुरेन्द्र पाण्डेबीच विवाह भएको हो । ‘यसअघि विवाह दर्ताको किताब जसरी राखिएको छ, त्यसैगरी सुरक्षित राख्छौँ,’ लामिछानेले भने, ‘विभागले अस्थायी अभिलेख भनेकोले प्रमाणपत्रमा अस्थायी अभिलेख लेखिएको हो ।’