च्याट जिपिटीका शामको घोषणाः म ओपनएआई मै फर्किन लागेको छु

मूलखबर संवाददाता
काठमाडौं

च्‍याटजिपिटी बनाउने शाम अल्टम्यान ओपनएआईमा पुन: सिइओको रूपमा फर्किने भएका छन्।

ओपनएआईले अल्टम्यानलाई फर्काउने गरी सम्झौता गरेको रोयटर्सले जनाएको छ। ओपनएआईको बोर्डले गत शुक्रबार अल्टम्यानलाई बर्खास्त गरेको थियो।

बर्खास्त गर्ने बोर्ड नै परिमार्जन गर्न पनि कम्पनीले सहमति जनाएपछि उनी फर्किन लागेका हुन्।

अल्टम्यानले पनि सामाजिक सञ्जाल एक्स (ट्विटरमा) बुधबार लेख्दै आफू ओपनएआईमा फर्किन लागेको बताएका हुन्।

‘मैले आइतबार साँझ माइक्रोसफ्ट जाने भनेर निर्णय गरेको थिएँ। यो निर्णय मेरो र टिमको लागि राम्रो निर्णय हुन्छ भन्ने सोचेको थिएँ। नयाँ बोर्ड र सत्यको सहयोगमा म ओपनएआई फर्किन लागेको छु र माइक्रोसफ्टसँगको पार्टनरसिपलाई अझ बलियो बनाउनेछु,’ अल्टम्यानले भनेका छन्। सत्य नडेला माइक्रोसफ्टका सिइओ हुन्।

ओपनएआईले बर्खास्त गरेसँगै आइतबार माइक्रोसफ्टका सिइओ नडेलाले सामाजिक सञ्जाल एक्समा लेख्दै अल्टम्यान कम्पनीमा आउन लागेको बताएका थिए। उनले अल्टम्यान उक्त कम्पनीमा नयाँ एआई रिसर्च टिमको नेतृत्व सम्हाल्ने जानकारी समेत दिएका थिए।

अल्टम्यानलाई निकालेसँगै उक्त कम्पनीका अध्यक्षसमेत रहेका ग्रेग ब्रकम्‍यानले पनि राजीनामा दिएका थिए। उनी पनि माइक्रोसफ्टमा जाने तयारीमा थिए। तर उनी पनि ओपनएआईमा फर्किएका छन‍्।

यता ओपनएआइले पनि भिडिओ लाइभ स्ट्रिमिङ प्लेटफर्म ट्विचका पूर्व प्रमुख एमेट शियरलाई प्रमुख बनाउन लागेको थियो। ओपनएआइले गत वर्षको नोभेम्बरमा च्याटजिपिटी लञ्ज गरेको थियो। यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ।

ओपन-एआईले गत शुक्रबार अल्टम्यानलाई उनी कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको भन्दै अप्रत्याशित रूपमा बर्खास्त गरेको थियो। उनलाई बर्खास्त गरेपछि कम्पनीका अध्यक्ष ग्रेग ब्रकम्यानले पनि पदबाट राजीनामा दिएका थिए।

ओपन-एआईले गत वर्ष नोभेम्बरमा च्याट-जिपिटी सार्वजनिकक गरेको थियो। यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ।