सिइओको बर्खास्तीपछि च्याट जिपिटीमा हलचल, अल्टम्यानको आगामी यात्रा माइक्रोसफ्टमा

मूलखबर संवाददाता
काठमाडौं

सिइओको बर्खास्तीपछि च्याट जिपिटीमा हलचल भएको छ। ओपन-एआईका सयौं कर्मचारीहरूले राजीनामा दिने बताएका छन्। सिइओ रहेका शाम अल्टम्यान कम्पनीबाट बाहिरिएसँगै झन्डै साढे पाँच सय जना कर्मचारीहरूले आफूहरूले पनि काम छाड्ने धम्की दिइरहेको सिएनएनले लेखेको छ।

ओपन-एआईले गत शुक्रबार अल्टम्यानलाई उनी कम्पनी र बोर्डप्रति जवाफदेही र जिम्मेवार नभएको भन्दै अप्रत्याशित रूपमा बर्खास्त गरेको थियो। उनलाई बर्खास्त गरेपछि कम्पनीका अध्यक्ष ग्रेग ब्रकम्यानले पनि पदबाट राजीनामा दिएका थिए। 

 

ओपन-एआईका कर्मचारीहरूले बोर्डमाथि अल्टम्यानलाई अप्रत्याशित रूपमा बर्खास्त गरेको, उनले बोर्ड र कम्पनीसँग समन्वय गरेको भन्ने आरोप पुष्टि हुने बलियो प्रमाण दिन नसकेको आरोप लगाएका छन्।

द न्यूयोर्क टाइम्सका अनुसार ओपन-एआईका कुल ७ सय कर्मचारीमध्ये झन्डै साढे पाँच सय जनाले राजीनामा दिने र अल्टम्यानसँगै जोडिने पत्रमा उल्लेख गरेका छन्।

‘तिमीहरूको यो हर्कतले तिमीहरू ओपन-एआई सञ्चालन गर्न सक्षम छैनौ भन्ने देखाउँछ,’ कर्मचारीहरूले बोर्डलाई लेखेको पत्रको विवरण उद्धृत गर्दै सिएनएनले लेखेको छ, ‘योग्यता र न्याय नभएका र हाम्रो मिसन र कर्मचारीको खयाल राख्ने नसक्ने मानिसहरूसँग हामी काम गर्न असमर्थ छौं।’

ओपन-एआईबाट बाहिरिएपछि आइतबार अल्टम्यान माइक्रोसफ्ट कम्पनीमा जाने भएका छन्। माइक्रोसफ्टका सिइओ सत्य नडेलाले ट्विटरमा लेख्दै अल्टम्यान माइक्रोसफ्टमा आउन लागेको जानकारी दिएका हुन्। अल्टम्यानले उक्त कम्पनीमा नयाँ एआई रिसर्च टिमको नेतृत्व सम्हाल्ने छन्।

माइक्रोसफ्टका अध्यक्ष तथा सीईओ सत्य नडेलाले सोमबार सामाजिक सञ्जाल साइट ‘एक्स’ मा पोस्ट गर्दै यो जानकारी दिएका हुन् ।

“र हामी मेरा सहकर्मी साम अल्टम्यान र ग्रेग ब्रोकम्यान (ओपनएआईका अर्का सह-संस्थापक) सँगसँगै नयाँ उन्नत एआई अनुसन्धान टोलीको सह-संस्थापक हुनेछौं भन्ने खबर साझा गर्न पाउँदा हामी खुसी छौं,” नाडेलाले यसमा अल्टम्यानको बारेमा भने।

“हामी उनीहरूलाई सफल हुन आवश्यक पर्ने स्रोतहरू उपलब्ध गराउन द्रुत गतिमा अघि बढ्न तत्पर छौं,” नाडेलाले भने। यद्यपि, उनले यो पनि भनेका छन् कि उनको समूह आर्टिफिसियल इन्टेलिजेन्स जाइन्ट ओपनएआईसँगको साझेदारीलाई जारी राख्न प्रतिबद्ध छ।

“हामी ओपनएआइसँग हाम्रो साझेदारी कायम राख्न प्रतिबद्ध छौं,” उनले लेखे। अब सत्य नाडेलाको यो घोषणामा अल्टम्यानले प्रतिक्रिया दिएका छन् ।
ओपन-एआईका कर्मचारीहरूले कम्पनी बोर्डले तुरून्त राजीनामा दिएर पूर्वसिइओ अल्टम्यान र शुक्रबारै बर्खास्त गरिएका पूर्वअध्यक्ष ग्रेग ब्रकम्यानलाई पुनर्बहाली नगरे आफूहरू पनि तुरून्तै माइक्रोसफ्ट जाने चेतावनी दिएका छन्।

ओपन-एआईले गत वर्ष नोभेम्बरमा च्याट-जिपिटी सार्वजनिकक गरेको थियो। यसले वर्षदिनमै विश्वभर लोकप्रियता कमाएको छ। यसअघि ओपन एआईले उनीप्रति कम्पनीको विश्वास गुमेको भन्दै अल्टम्यानलाई शुक्रवार जिम्मेवारीबाट हटाएको थियो। तर उनलाई हटाइनुको कारण प्रस्ट छैन।

तर सिलिकन भ्यालीका कैयौँले उनलाई फेरि जागिरमा पुनर्स्थापित गर्न सकिने आकलन गरिरहेका थिए।

माइक्रोसफ्टमा जाने टुङ्गो लागेपछि अल्टम्यानले माइक्रोसफ्टका प्रमुख नडेलाको पोस्टमा प्रतिक्रिया दिँदै भनेका छन्, “अभियान जारी छ।”