
माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनसम्मका लागि निषेधित क्षेत्र
जिल्ला प्रशासन कार्यालय काठमाडौंले माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकेको छ।
सोमबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म ३० दिनका लागि निषेधित क्षेत्र घोषणा गरेका हुन्।
नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षले मंसिर ७ गते माइतीघरमा प्रदर्शन गर्न लागेका थिए।
तर एकैदिन दुई पक्षको प्रदर्शन हुँदा शान्ति सुरक्षामा समस्या आउने भन्दै प्रशासनले माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३(क) बमोजिम आदेश जारी गरेको हो।
पद्मोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलको चारैतर्फ र माइतीघर मण्डलदेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म निषेधित क्षेत्र तोकिएको हो।
‘एक वा सोभन्दा बढी समूहद्वारा एकै मिति, समय र स्थानमा भेला जम्मा भई अनसन, धर्ना, घेराउ र विरोध प्रदर्शन जस्ता कार्यक्रमहरू आयोजना गर्दा विभिन्न समूहबीच आपसी विवाद, झैझगडा, मुठभेड एवं भिडन्त भई शान्ति सुरक्षा भंग हुनसक्ने तथा हुलदंगा वा अशान्ति हुनसक्ने भई समग्र रूपमा शान्ति सुरक्षामा प्रत्यक्ष असर पर्छ,’ प्रमुख जिल्ला अधिकारी बस्नेतले जारी गरेको आदेशमा भनिएको छ।
सोमबार प्रमुख जिल्ला अधिकारी बस्नेतले दुर्गा प्रसाई पक्ष र युवा संघ पक्षबीच छलफल गरेका थिए। दुबैले शान्ति सुरक्षा कायम गर्न सहयोग गर्ने बताएका थिए।
