सी-बाइडेन सान्फ्रान्सिस्को संवादः सुध्रिन्छ त सम्बन्ध !
हल ब्रान्ड्स
जनवादी गणतन्त्र चीन लेनिनवादी राज्य हो, जसलाईसत्ता–संघर्ष निरन्तर र कठोर हुन्छ भनेर विश्वास गर्ने पार्टीले चलाइरहेको छ। यो कुरा बुझ्ने हो भने हालै अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीचको शिखर बैठकको अर्थ के हुन्छ र के हुँदैन, स्वतः थाहा हुन्छ।
यसको अर्थ के हो भने सीसँग पनि बाइडेनसँग जस्तै वार्तामा बस्नुपर्ने गतिलो कार्यनीतिक कारण छ। तर, यसको अर्थ के होइन भने विश्व व्यवस्थाका सर्तहरू तय गर्ने मुलुकका रुपमा अमेरिकालाई विस्थापित गर्ने चीनको दृढतामा कुनै कमी आएको छ। जस्तोसुकै वार्ता भए पनि त्यसले यो तथ्य बदल्न सक्दैन।
यो भेटका लागि पर्याप्त तयारी गरिएको थियो। पछिल्ला महिनामा अनेकौँ अमेरिकी अधिकारीहरूले बेइजिङ भ्रमण गरेका थिए। चिनियाँ विदेश मामिला प्रमुख वाङ यीले अमेरिकी समकक्षीसँग माल्टा र वासिङ्टनमा समेत भेट गरेका थिए।
यो क्षणमा दुवै पक्षले उच्चस्तरीय कूटनीतिको महत्व बुझेका छन्। बाइडेन देखाउन चाहन्छन्– अमेरिका महत्वपूर्ण सम्बन्धहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गरिरहेको छ। युरोप र मध्यपूर्वमा हिंसात्मक संकट छाइरहँदा उनलाई एसियामा शान्ति चाहिएको छ। सी चाहन्छन्– आउँदो जनवरीमा ताइवानमा हुने चुनावका मतदाता नतर्सिऊन्। चीनको अर्थतन्त्र मन्द भएकाले उनले केही समय अन्तर्राष्ट्रिय तनावबाट छुट्टी लिन सक्छन्। सम्भवतः उनलाई आशा छ– नरम बोलीचाली र उदार कूटनीतिले अमेरिकाले अपनाउनसक्ने कठोरतालाई कम गर्न सक्छ।
बाइडेन–सी बैठकले केही परिणाम दियो पनि– जलवायु परिवर्तनको मुद्दामा मामुली प्रगति, आर्टिफिसियल इन्टेलिजेन्ससँग सम्बन्धित जोखिमबारे छलफल गर्ने सहमति, फेन्टानाइल उत्पादनमा पाबन्दी लगाउने चीनको प्रतिबद्धता, आपसी सैन्य सम्बन्धलाई विस्तार गर्ने विषयमा प्रगति। पहिलेजस्तै बाइडेनले ‘प्रतिस्पर्धा द्वन्द्वमा नबदलिने सुनिश्चितता गर्ने’ इच्छा व्यक्त गरे। सीको प्रस्ताव थियो, ‘पृथ्वी ग्रह दुई मुलुक सफल हुन पुग्नेगरी फराकिलो छ।’
तर, नदेखिएका कुरा अझ धेरै छन्।
चीन आफ्नो निरंकुश प्रणालीलाई अझ बलियो पार्न एआईको प्रयोग गर्न चाहन्छ। अमेरिकाले एआईको विकास त्यो तरिकाले गर्न उत्प्रेरित गर्नुपर्छ, जसले लोकतान्त्रिक मुलुकहरूलाई विश्वव्यापी अग्रता कायम गर्न सहयोग पुगोस्।
अमेरिकी रक्षामन्त्री लोइड अस्टिन र उनका चिनियाँ समकक्षीबीचको वार्ताले आपसी संवादको थप माध्यम खोल्नेछ। तर, ढुक्क नहुनुस्, पश्चिम प्रशान्त क्षेत्रमा जनमुक्ति सेनाले खतरनाक व्यवहार देखाउन छाड्ने छ र संकटको समयमा पेन्टागनले गरेको फोन उठाउने छ।
सम्बन्धमा देखिएको पछिल्लो ‘ब्रेकथ्रु’ हो– हतियार नियन्त्रणसम्बन्धी संवाद। यो राम्रो कुरा हो। तर, सबैलाई थाहा छ, चीनले तीव्र गतिमा आणविक हतियार निर्माणको क्रमलाई रोक्ने कुनै संकेत देखाएको छैन।
यी सबै कुराले के दर्शाउँछ भने बाइडेन–सी वार्ताले बिग्रिँदो सम्बन्धमा कति थोरै प्रभाव पार्छ।
शिखर बैठकसम्म आइपुग्दा अमेरिकाले आफ्नो स्थिति मजबुत पारेको छ। गतवर्ष पेन्टागनले चीनलाई लक्षित गरेर नयाँ हतियार निर्माण कार्यक्रम घोषणा गरेको छ। उदाहरणका लागि ‘रेप्लिकेटर’ ड्रोनलाई लिन सकिन्छ। वासिङ्टनले एसियामा नयाँ सैन्य शिविर राख्ने सम्झौता सम्पन्न गरेको छ। साथै, बेइजिङविरुद्ध सैन्य, आर्थिक, कूटनीतिक र प्राविधिक गठबन्धन बनाउन अथक कूटनीति जारी राखेको छ। बाइडेनले चीनमा अमेरिकी लगानीमा सानै भए पनि प्रतिबन्ध लगाएका छन्। अर्कोतिर निर्यात नियन्त्रणलाई परिष्कृत बनाएर चिनियाँ कम्पनीहरूलाई आधुनिक सेमिकन्डक्टर आपूर्ति गर्नबाट रोकेका छन्।
‘पश्चिमा मुलुकहरूले अमेरिकी नेतृत्वमा हामीविरुद्ध चौतर्फी घेरा, नियन्त्रण र दमनको नीति अपनाएका छन्,’ सीले गत मार्चमा भनेका थिए। सम्भवतः यसभन्दा कम अपेक्षा उनलाई पनि थिएन।
चिनियाँ कम्युनिस्ट पार्टीका अधिकांश शक्तिशाली नेताहरूजस्तै सीले पनि अमेरिकासँगको सम्बन्धलाई लामो समयदेखि आधारभूत रुपमै शत्रुतापूर्ण सम्बन्धका रुपमा लिँदै आएका छन्। उनको शासनको सुरुवाततिर तयार गरिएको एक दस्तावेजमा पश्चिमा लोकतन्त्र र चीनको समाजवादी शासन व्यवस्थाबीच घातक वैचारिक संघर्ष रहेको तर्क गरिएको थियो। त्यसैले उनी अमेरिका–चीन मामिलालाई पनि पार्टीको नजरबाट हेर्छन्, जसले घरेलु र बाह्य, दुवै राजनीतिलाई ‘जिरो सम गेम’ मान्छ।
‘अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको जंगली कानुन बदलिएको छैन,’ सीले सन् २०१४ मा सैन्य अधिकारीहरूलाई भनेका थिए। त्यसको एक वर्षपछि उनले थपे, ‘एक मात्र महत्वपूर्ण कुरा के हो भने तपाईंसँग शक्ति छ कि छैन? तपाईं त्यो शक्ति प्रयोग गर्न सक्नुहुन्छ कि सक्नुहुन्न? चिप्ला कुरामा भर परेर काम चल्दैन।’
वास्तवमा सीको लक्ष्य एउटा यस्तो एसिया र एउटा यस्तो विश्व बनाउनु हो, जसले चीनको इसारा मान्छ। र, एउटा यस्तो ‘भविष्य निर्माण गर्नु हो, जहाँ हाम्रो पहल हुनेछ र प्रमुख स्थान हाम्रो हुनेछ,’ सीले सन् २०१२ मा भनेका थिए। त्यसैले सीले बाइडेनसँग वार्ता गरे पनि चीनले संकटको तयारी गरिरहेको छ।
पेन्टागनका अनुसार २०२२ यता चीनले ५ सय वटा नयाँ आधुनिक लडाकु विमान मैदानमा उतारेको छ। हरेक वर्ष एसियाको सैन्य शक्ति सन्तुलन चीनको पक्षमा ढल्किँदो छ। २०३० सम्ममा चीनको आणविक हतियार भण्डारण अमेरिकासँग बराबर हुनेछ। यहीबेला चीन आधुनिक अर्थव्यवस्थाका प्रमुख घटकहरू, जस्तै दुर्लभ खनिज, दुरसञ्चार, आदिमा कब्जा गर्ने कोसिस गरिरहेको छ। अर्कोतिर, लोकतान्त्रिक मुलुकहरूमाथिको आफ्नो निर्भरता कम गर्ने प्रयास गरिरहेको छ। जसरी सीले २०२० मा भनेका थिए, ‘प्रमुख प्रविधिका लागि चीनले कठिन लडाइँ लड्नैपर्ने हुन्छ।’
सायद चीनले यी क्षमताहरूलाई युद्धमा प्रयोग गर्नेछ। वा सायद चीन यति शक्ति हासिल गर्न चाहन्छ, जहाँ युद्ध नै अनावश्यक बनोस्। तर, जुन तरिकाले भए पनि बेइजिङ शक्ति परीक्षणका लागि तयार हुँदैछ।
यो विचार निराशाजनक छ। तर, अमेरिकाले जुन विश्व व्यवस्था बनाएको छ, त्यसको संरक्षण गर्ने क्षमता कायम राख्न उसले त्यो विश्वव्यवस्थाले सामना गर्ने चुनौतीप्रति यथार्थवादी हुनुपर्छ। सीका अभिव्यक्तिहरूका आधारमा भन्नुपर्दा यो र अरु कुनै पनि भेटवार्ताको नतिजाबारे उनले आफूलाई धोका दिने छैनन्। अमेरिकाले पनि आफूलाई धोका दिनु हुँदैन।
ब्लुमबर्गबाट साभार