यी हुन् मजदुर नेता बर्तौलामाथि आक्रमण गर्ने गुण्डाहरु, यसरी भएको थियो आक्रमण

मूलखबर संवाददाता
काठमाडौं

२२ कात्तिकमा तिहारको चहलपहल सुरु नभए पनि तयारी भने हुन थालिसकेको थियो । २५ कात्तिकबाट तिहार सुरु हुने भएकोले काठमाडौंको प्रमुख केन्द्रहरूमा चहलपहल बाक्लो हुन थालिसकेको थियो ।

काठमाडौंको नयाँबानेश्वर क्षेत्र त्यसै पनि चहलपहल बढ्ता हुने क्षेत्र हो । बानेश्वर चोकभन्दा केही पर पुरानो बानेश्वर जाने सडक छेऊमा आई प्लेक्स मल सञ्चालनमा आएपछि यो क्षेत्रमा थप चहलपहल भइरहेको हुन्थ्यो । कुनै बेला फिल्म हल रहेको क्षेत्रमा अहिले मल निर्माण भयो र त्यही मलमा फिल्म हल सञ्चालनमा रहेको छ । त्यसले गर्दा पनि यो क्षेत्रमा मान्छेको बाक्लो आवतजावत हुन्छ ।

तर, २२ कात्तिकमा भने परिस्थिति अलिक भिन्न भइदियो । त्यसदिन काठमाडौं वडा नम्बर १० बानेश्वरस्थित यही आई प्लेक्स मलनजिक एक जना माओवादी नेतामाथि आक्रमण भयो । माओवादी केन्द्रको बागमती प्रदेश कमिटी सदस्यसमेत हरेका जनक बर्तौलामाथि हतियारधारी व्यक्तिले सांघातिक आक्रमण गरे । तर, त्यसको पत्तो कसैले पनि पाएनन् । बर्तौलामाथि दुई जना व्यक्तिले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाई फरार भए । फिल्मीशैलीको त्यो आक्रमणमा संलग्न व्यक्तिको तत्काल पहिचान गर्न प्रहरीले पनि सकेन ।

प्रहरीले झन्डै साता दिन लामो अनुसन्धानपछि उनीहरूको पहिचानको क्लुहरू पत्ता लगायो । त्यसबीचका उनीहरूका सम्पूर्ण गतिविधिहरूमा पहुँच पुर्‍याउन प्रहरी सफल भयो । त्यसबाट प्रहरीले के पनि पत्ता लगायो भने २२ कात्तिकको घटना संयोगवशभन्दा पनि योजनाबद्ध थियो । प्रहरीले पाएको सूचनाअनुसार तीन महिनादेखिको योजना थियो । उनीहरूले एक होटलमा बसेर बनाएको यो योजनापछि टोलीले बर्तौलालाई निरन्तर पछ्याइरहेको थियो । अनि, आक्रमणका लागि अनुकूल परिस्थितिको पर्खाइमा थिए ।

काठमाडौं प्रहरी परिसरकार एसपी कुमोध ढुंगेलले पनि प्रहरीले अनुसन्धानका क्रममा पीडित बर्तौला र उनीसँग जोडिएकाहरूबाट प्राप्त सूचनासहित विभिन्न विधि प्रयोग गरी दुई जना व्यक्तिको पहिचान गर्न सफल भएको बताएका छन् ।

खासमा यी दुई जनाले तीन महिनादेखि बर्तौला बस्ने निवास, उनको कार्यालय, पार्टीका विभिन्न कार्यक्रम तथा बैठक, बर्तौला जिम जाने स्थान सबैको रेकी गरेको खुलेको छ । प्रहरीको अनुसन्धानमा खुलेअनुसार उनीहरू बर्तौलालाई आक्रमण गर्नै अनुकूल परिस्थितिको पर्खाइमा मात्रै थिए । उनीहरूले त्यो समय २२ कात्तिक बानेश्वरको आई प्लेक्स आसपासको क्षेत्र पाएको देखिन्छ ।

प्रहरीको अनुसन्धानमा बर्तौलालाई खुकुरी प्रहार गर्न शेरबहादुर थारु र आशिष लामिछाने पुगेका थिए । शेरबहादुरले बर्तौलालाई पछाडिबाट तीनपटक खुकुरी प्रहार गरेका थिए । त्यस समयको निगरानी भने आशिषले गरेका देखिन्छ । प्रहरीको अनुसन्धानले पत्ता लगाए अनुसार बर्तौलामाथि खुकुरी प्रहार गरेपछि शेरबहादुर करिब पाँच सय मिटर पश्चिम भागेका थिए । अनि, एउटा घरको कम्पाउण्डभित्र पसेका थिए ।

घरभित्र छिरेका शेरबहादुरले आक्रमणको सुईको नपाउन् भन्नका लागि आक्रमणका क्रममा लगाएका कपडा फेरेका थिए । फेरिएका कपडासहित आक्रमणमा प्रयोग भएको हतियार पनि त्यही छोडेर हिँडेका थिए । त्यसपछि दुवै जना प्रहरीको निगरानीबाट बँच्नका लागि काठमाडौं छोड्ने निधोमा पुगे । त्यसका लागि हिँड्दै उनीहरू नयाँ बसर्पाक पुगे अनि झापा हुँदै इलाम लागे । बर्तौलामाथि खुकुरी प्रहार गर्न संलग्न भएका शेरबहादुर र आशिषलाई इलामसम्म लैजानका लागि सहजीकरण भने टेकबहादुर प्रधानले गरेका थिए । प्रधानले त्यति गरेबापत केही रकम लिएको पनि प्रहरी अनुसन्धाबाट खुलेको छ ।

बर्तौलालाई आक्रमण गर्ने टोलीको पहिचान खुलाउने क्रममा प्रहरीले बताएअनुसार बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का २४ वर्षीय शेरबहादुर थारू, झापा मेचीनगर नगरपालिका वडा नम्बर ८ मेचेका ३४ वर्षीय कैलास भन्ने टेकबहादुर प्रधान र कोहलपुर नगरपालिका वडा नम्बर १ कौशीला बस्ने २६ वर्षीय आशिष लामिछाने मगरको संलग्नता रहेका थियो ।

बर्तौलामाथि आक्रमण गर्ने उनीहरू विगतमा पनि आपराधिक गतिविधिमा संलग्न रहेको प्रहरीले जनाएको छ । चोरी तथा डाका, हातहतियार खरखजाना, लागुऔषध र ज्‍यानसम्बन्धी उद्योग जस्ता गतिविधिमा संलग्न भई सजाय भुक्तान गरेको खुलेको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपिदिएको छ ।